थप एक गैंडा मृत भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा थप एउटा दुलर्भ एक सिंगे गैंडा मृत मरेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत अवस्थामा गैंडा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आइतबार बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत भेटिएको हो । गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन् । तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन । निकुञ्जका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन । यस्तै अर्ना १०, बाघ २, रतुवा ३, मगर गोही दुई, जरायो ९, बँदेल दुई, सर्प दुई, अजिङ्गल दुई, लघुना चार, चखेवा दुई मरेका छन । यसैगरी भालु, चितुवा, हात्ती, बकुल्ला, कछुवा, गौरीगाई, निलगाई, मलाहा बिरालो, गोहोरो, दुम्सी, पानीहाँस र बाँदर एक÷एक वटा मरेका छन् ।

तिवारीका अनुसार गैँडाबाहेक अन्य वन्यजन्तु प्राकृतिक कारणले मरेका छन् । अधिकांश बाघका आहारा प्रजाति भएका कारण कतिपयलाई बाघले मारेको हो । वन्यजन्तु, बुढो भएर, दलदलमा फसेर, भिरबाट लडेर, एक आपसमा जुधेर, शक्तिशाली जनावरले कमजोरलाई आक्रमण गरेर मर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज वन तथा वन्यजन्तुका लागि प्रख्यात छ । यहाँ ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका सरिसृप र १२६ प्रजातिका माछा पाइन्छन् ।

प्रतिक्रिया