आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक

स्याङ्जा । जिल्लाकोे आँधीखोला गाउँपालिकाले प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । यहाँको प्रशासनिक प्रयोजनको लागि बनाइएको लोगोले पालिकाको धार्मिक, सांस्कृतिक र प्राकृतिक पहिचान बोकेको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले भने, ‘यो लागो जनप्रतिनिधि, पालिकाको लेटर हेड र पालिका भित्रका सरकारी कामकाजमा प्रयोग हुनेछ ।’ पालिकाको समग्र पहिचान एउटै लोगोले समेटेको कारण पालिकाको गौरब भएको पौडेलले बताए ।

प्रतिक चिन्हको माथिल्लो भागमा गाउँपालिकाको नाम र बिचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । त्यसैगरि तल्लो भागको रिवनमा गाउँपालिकाको ठेगाना लेखिएको छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धानको बाला देखाइएको छ । धानको बालाले कृषि उत्पादनलाई इंकित गरेको छ ।

प्रतिक चिन्हको गोलाकार भागले यस गाउँपालिका भित्रको जातीय सहिषुणतालाई एउटै मालामा गासेको सन्देश दिएको छ । उदाँउदो सुर्य सहित रहेका हरियाली डाँडाकाँडा तथा रुखहरुले गाउँपालिकाको प्राकृतिक सौन्दर्यतालाई झल्काएको छ । पर्यटकिय दृष्टिकोणले राष्ट्रिय स्तरमा परिचित देशकै पहिलो होमस्टे शिरुवारी गाउँ र श्रवणकुमारलाई प्रतिक चिन्हमार्फत विशिष्टकरण गरिएको छ ।

आँधीखोलाको नक्सा समेटेको उक्त प्रतिक चिन्हले अन्धाअन्धी दहबाट झरेको झरना आँधीखोलामा मिश्रण भएको भावलाई झल्काएको छ । कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधार देखाउन दुई जना व्यक्तिले खेतमा काम गरिरहेको दृश्य राखिएको छ । लैगिंक समानता, एकता, समन्वय र सहकार्यलाई झलकाउन महिला पुरुषले हात मिलाएको सन्देश दिने लोगो निर्माण गरिएको छ ।

१० औ गाउँसभाले लोगो निर्माण गर्न कार्यपालिकालाई जिम्मा दिएको थियो । कार्यपालिकाले पास गरेर यो लोगो सार्वजनिक गरिएको प्राविधिक शाखाका संयोजक रोशन लामिछानेले बताए ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया