दुई दिने पौभा प्रदर्शनी

भक्तपुर । परम्परागत नेपाली चित्रकलाको प्रवद्र्धन, संरक्षण तथा विकास गर्ने लक्ष्यमा साथ दुई दिने प्रदर्शनी सम्पन्न गरिएको छ । ख्वप पौभा च्वमी पुचः भक्तपुरको आयोजनामा शुक्रबार र शनिबार भक्तपुर दरबार परिसरमा भएको प्रदर्शनीमा तीन दर्जन बढी कलाकारको सहभागिता रहेको थियो । आयोजकका अनुसार कलाप्रेमीका साथै जनसाधारणलाई नेपालको मौलिक पौभाः चित्रकलाप्रति अभिरुचि बढाउने उद्देश्य राखेर प्रदर्शनी गरिएको हो । पुचः का सचिव पूर्णप्रसाद ह्योजुले पौभा कलाकारलाई संगठित गरी संस्थागत विकासतर्फ उन्मुख गराउने ध्येय राखेर प्रदर्शनी गरिएको सुनाए । उनले भने, ‘नेपालको मौलिक पहिचान बोकेको पौभा चित्रकलालाई आमजनसाधारणसम्म पु¥याउन प्रदर्शनीको महत्व रहने भएकाले संस्थाले बर्षेनी कार्यक्रम गर्दै आएको छ । यसले कला र कलाकारप्रति आममानिसको अभिरुचि अभिबृद्धिमा सघाउने अपेक्षा राखेका छौं ।’

संस्थाका सहसचिव सुन्दर सिंख्वालले कलाकारको सीपलाई उजागर गराइ राष्ट्रिय पहिचान गराउन सफल पौभा कला प्रदर्शनी गरिएको बताए । उनले भने, ‘कला र संस्कृतिले मात्रै राष्ट्र समृद्ध बन्ने भएकाले यसप्रति राज्यको ठोस नीति र कार्यक्रम हुनुपर्दछ । यही लक्ष्यलाई केन्द्रमा राखेर प्रदर्शनीको आयोजना गरिएको हो ।’ प्रदर्शनीमा दिवंगत कलाकार आनन्दमुनि शाक्य, दीपककुमार जोशी, धनबहादुर चित्रकार, माणिकमान चित्रकार, सिद्धिमुनि शाक्य, ज्ञानकर बज्राचार्यका कलाकृति राखिएको थियो । यस्तै, प्राज्ञ मानबहादुर दोङ, सूर्यबहादुर चित्रकार, पूर्णप्रसाद ह्योजु, निमा लामा ग्याम्छो, उदयचरण श्रेष्ठ, न्हुन्छेकाजी बज्राचार्य, लोक चित्रकार, मुक्तिसिंह थापा, सुरेन्द्रमान शाक्य, शंकरकुमार जोशी, सुन्दर सिंख्वाल, रत्नगोपाल सिंख्वाल, कृष्णराम धेमसु, दिनेशचरण श्रेष्ठ, देवेन्द्र सिंख्वाल, अमृत डंगोल, उजय बज्राचार्य, पाल्साङ्मो लामा, भूमिराज चौलागाईं, रवि श्रेष्ठ, रितेश शाही, राजप्रकाश तुलाधर, रामप्रकाश श्रेष्ठ, समुन्द्रमान सिंह श्रेष्ठ, सुदर्शन सुवाल, हरिप्रसाद वैद्य, झिग्मे तामाङ, पुरण ह्योजुका कलाकृति राखिएको थियो ।

यसैगरी, सुदर्शन सिंख्वाल, शिवप्रसाद किजु, बलराम निह्सुतु, रामसुन्दर ख्याजु, रोजिना सिंख्वाल, अजय कर्माचार्य, मृगेन्द्र कर्माचार्य, सुन्दर श्रेष्ठ, रविन्द्र मुनकर्मीका पौभा कलाले नेपालको पहिचानलाई झल्काएको थियो । चार दर्जन बढी कलाकृति राखिएको प्रदर्शनीमार्फत पौभा चित्रकलाप्रति जनसाधारणको समेत चासो र रुचि जाग्ने अपेक्षा राखेको पुचःका अध्यक्ष सूर्यबहादुर चित्रकारले बताए ।

प्रदर्शनीको सन्दर्भ पारेर शनिबार गरिएको अन्तक्र्रिया कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ख्वप पौभा च्वमी पुचःले परम्परागत कलाको विकासका लागि गरिरहेको कार्य प्रशंसनीय रहेको बताए । उनले भने, ‘नेपालको मौलिक पहिचान बोकेको परम्परागत पौभा चित्रकलालाई संसारले अध्ययनसँगै अभिरुचिपूर्वक मनपराएका छन् । यसको चर्चा र ख्याति पनि विशिष्ट रहेको छ ।’ कुलपति कर्माचार्यले प्रतिष्ठानले पनि यस क्षेत्रको विकासका लागि सकेजति काम गर्दै आइरहेको सुनाए । उनले प्रतिष्ठानले परम्परागत विधालाई प्रशिक्षित गर्ने काम गर्दै आइरहेको सुनाउँदै उपत्यकाबाहिर पनि कार्यक्रम गरेको जानकारी दिए । उनले थपे, ‘नेपाली मानसपटलमा परम्परागत कलाको महत्वलाई उजागर गर्नका लागि हामी सबै मिलेर सिर्जनात्मक, प्रशिक्षणात्मक, गोष्ठी, अन्तक्र्रिया, प्रदर्शनी आदि गर्नुपर्दछ ।’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका शिल्पकला विभागका प्रमुख प्राज्ञ परिषद् सदस्य बुद्धि गुरुङले परम्परागत कलाको महत्वलाई चिनाउन र यसको मौलिकतालाई बचाउन प्रतिष्ठानले काम गर्दै आइरहेको बताए । उनले परम्परागत कलालाई आममानिस समक्ष पुर्याउन पुचःले काम गरेको बताउँदै कलाप्रति चेतना जागृत गराउने काममा प्रतिष्ठानले सदैव काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गुरुङले भने, ‘नेपाली मौलिक कलाको विकास, प्रवद्र्धन, संरक्षण तथा विस्तारमा प्रतिष्ठानले कार्यहरु गर्दै आएको छ ।’

अग्रज कलाकार उदयचरण श्रेष्ठले पौभा कलाको मौलिकता बचाउन र यसको महत्वलाई उजागर गर्न प्रदर्शनीको महत्व रहने भनाइ व्यक्त गरे । उनले नेपालमा विकसित परम्परागत कलाको विकासका लागि सरकार, प्रतिष्ठान, विश्वविद्यालय, सरोकारी संघसंस्था, कलाकार, कलालेखक, कलासंकलक लगायतले मिलेर काम गर्नुपर्नेमा जोेड दिए । यस्तै, अर्का अग्रज कलाकार मुक्तिसिंह थापाले परम्परागत कलाको मौलिकता बचाउन सबै कलाकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपाली समाजमा विकास भएको कलाको मौलिकतालाई जोगाइराख्न कलाकारको सीप विकासमा समेत ध्यान दिनुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा अग्रज कलाकार तथा पुचःका अध्यक्ष सूर्यबहादुर चित्रकारले कलाप्रतिको मोह जगाउन बेलाबेलामा प्रदर्शनी गरिहनुपर्ने बताए ।

प्रतिक्रिया