कालिन्चोक ५ र ६ मा घर–घरमै मिटरसहितका धारा

दोलखा । कालिन्चोक गाउँपालिका ५ र ६ मा मिटरसहितको धारा निर्माण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा ९६ घरधुरी र ४ संस्थागत गरि एक सयवटा र वडा नम्बर ६ मा ५३ घरधुरी र १ संस्थागत गरि १ सय ५४ वटा धारा निर्माण गरिएको हो । घर–घरमै धारा पाएपछि लापिलाङका स्थानीयहरु खुसी भएका छन् । पानीकै लागि बिहान बेलुका टाढा जानुपर्ने वडाबासीको वाध्यता अन्त्य भएको वडाध्यक्ष मानसिंह थामीले बताए ।

लकाइ गाउँ कातिके खानेपानी तथा सरसफाइ आयोजना र आइतबारे लिडेखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत ती गाउँमा खानेपानी सञ्चालन गरिएको सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाले बताए । हरेक घरमा पानी प्रयोगवापत मिटर जडान गरे तापनि यसको दिगो सञ्चालनका लागि योजना बनिरहेको अर्का वडा अध्यक्ष सुबास थामीले बताए ।

नियमित मर्मत सम्भारका लागि उपभोक्ताबाट समेत नियमित शुल्क लिने उपभोक्ता समितिले जनाएको छ । आइतबारे लिडेखोला खानेपानी तथा सरसफाइ आयोजनाबाट ५४ धारा निर्माण गरिएको छ । यसबाट २ सय २५ जना लाभान्वित भएका छन् ।

त्यस्तै अर्को आयोजना लकाइ गाउँ कातिके खानेपानी तथा सरसफाइ आयोजनाबाट १ सय धारा निर्माण गरिएको छ । यसबाट ४ सय ५० जना लाभान्वित भएका छन् । सामुदायिक बिकास मञ्चको सहजीकरणमा वाटरहेड नेपालको ४२ लाख ८३ हजार ६ सय २३, कालिन्चोक गाउँपालिकाको ९ लाख २६ हजार १ सय ३० र उपभोक्ता जनश्रमदानबाट १२ लाख १२ हजार ४ सय ५० गरेर ६४ लाख २२ हजार २ सय ४ रुपैयाँमा लकाइ गाउँ कातिके खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको सोही उपभोक्ता समितिका अध्यक्ष सन्तोष खड्काले बताए ।

त्यस्तै अर्को आइतबारे लिडेखोला खानेपानी तथा सरसफाइ आयोजना वाटरहेड नेपालको १९ लाख ६२ हजार ७ सय १०, कालिन्चोक गाउँपालिकाको ३ लाख ५१ हजार ३० र उपभोक्ता जनश्रमदान बाट ६ लाख ३१ हजार ५ सय ९१ गरेर २९ लाख ४५ हजार ३ सय ३१ रुपैयाँमा सम्पन्न भएको सोही आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दल बहादुर थामीले बताए ।

आयोजनामा स्प्रिङ इन्टेक, इन्ट्रान्स गेट, वायर मेष फेन्सिङ, इन्टरप्सन च्याम्वर, पानी ट्याङ्की, लगायतका संरचना निर्माण गरिएको छ ।
खानेपानि आयोजना हस्तान्तरण कार्यक्रम विभिन्न ब्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया