दाइजोकै लागि हत्या भएको खुलासा

जनकपुर, दाइजो नल्याएकै विषयमा धनुषा नक्टाझिझ–८ श्रीपुरकी पुनमकुमारी महतोको हत्या भएको प्रहरी प्रारम्भिक अनुसन्धानमा खुलेको छ । २० माघमा रूखमा झुन्ड्याइएको अवस्थामा महतोको शव फेला परे पनि घटनामा समातिएका परिवारका सदस्यको बयानपछि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।
प्रहरीले घटनापछि महतोका ससुरा बिल्टु तथा जेठाजुद्वय राजकुमार र शिवकुमारलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । अनुसन्धानबाट हत्याको प्रमाण जुट्दै गएपछि अदालतमा मुद्दा पनि दायर भएको छ । अभियुक्तहरू जलेश्वर कारागारमा पुर्पक्षमा छन् ।
मृतकका बाबु महेश्वर महतोले प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दर्ता गराए पनि पति शत्रुघन महतो फरार छन् । सासू जरुनीदेवीलाई प्रहरीले पक्रेको छैन । ससुरा पक्षले एक लाख रुपियाँ, पल्सर मोटरसाइकल नदिए छोरी फिर्ता लैजानुपर्ने भनेर पटकपटक धम्की आएलगत्तै छोरी मारिएको अवस्थामा फेला परेको महतोले बताए ।
‘छिट्टै सो घटनाको यथार्थ आउँदै छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अभय जोशीले भने, ‘घटनाका दोषीलाई चाँडै कारबाही हुनेछ ।’ दाइजोकै कारण छोरी मारिएपछि पीडित परिवारले दोषीमाथि कारबाहीको माग गरेको छ । तर, गम्भीर प्रकृतिको मुद्दा भएकाले फैसला हुन दुई वर्षसम्म लाग्न सक्ने अधिवक्ता बालकृष्ण कार्कीले बताए । (सौस)

प्रतिक्रिया