नवइतिहासको खोजी, स्मृति, संरक्षण, समसामयिक विश्वव्यापी कला, आध्यामिकता, मिथक प्रस्तुति तथा सामूहिक उत्सव लगायतका उल्लासको कथा समाहित गरेको ‘काठमाडौं ट्रिएनाले–२०७७’ तेस्रो सप्ताहमा प्रवेश गरेको छ । जसमा नेपालका पौभा चित्रकला, पूर्वीएसियाको मसीकला र प्रशान्त महासागरका टापुहरूमा रुखको बोक्राबाट बनेका कपडादेखि जनकपुरका रैथाने मिथिला चित्रकारका कलाले संसारभर मानव सभ्यताको विकासक्रम देखाएको छ । यतिमात्र होइन, विश्वका विभिन्न देशका विभिन्न विधिले शरीर छेद्न कलासमेत प्रदर्शनमा राखिएको छ । यी कलाले सीमान्तकृत परम्परालाई एकै ठाउँ ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ र यसबारे छलफलको उठान पनि गरेको छ । मानव सभ्यताको खोजी मात्र नभइ भविष्यको कल्पना पनि गरिएको कलाकारिताले काल्पनिक क्षमतालाई विस्तार गरेको छ ।
सिद्धार्थ आर्ट फाउण्डेसनको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत सहयोग रहेको ‘काठमाडौं ट्रिएनाले’ मा कलाको विविध रुप र प्रवृत्तिलाई हेर्न सकिन्छ । विश्वका विभिन्न स्थानमा प्रचलित सीमाकृत समुदायका कलासमेत यो प्रदर्शनीको आकर्षण हो । यी आकर्षणको बीचमा प्रदर्शित नेपालका थारु समुदायमा प्रचलित कलाले सबैको ध्यान तान्न सफल भएको छ । भूमिपुत्रका रुपमा समेत चिनिएका थारु समुदायका कलाको सामाजिक, सांस्कृतिक तथा राजनैतिक दृष्टिले समेत विशिष्ट महत्व रहिआएको छ ।
० ‘घोर्वा’ शक्तिको प्रतीक हो । तसर्थ घोर्वालाई शक्तिको केन्द्र मानिने क्षेत्रहरुमा राखिने चलन छ । ताकी यसले सम्पूर्ण गाउँको संरक्षण गरून् । एक पटक आगोमा हालिसकेपछि घोर्वामा चेतना आउँछ, भन्ने लोकमान्यता पनि छ
ट्रिएनालेको आकर्षणमध्येको प्रकृतिसँग बाँच्ने मानवीय शैलीलाई थारु कलामार्फत आट्र्री नेपाल र कलाकार उर्मिला गम्वा थारुले क्यानभासमा उतारेका छन् । ‘समकालीन कला मात्र कला होइन, मानव सभ्यतासँग जोडिएर युगौंदेखि अभ्यासमा आएको जीवनशैली बुझाउनु पनि कला हो,’ उर्मिला अगाडि थप्छिन, ‘थारु समुदायले शरीरमा खोप्ने टीका, अंग लेखन अर्थात् ‘ट्याटु’ पनि कलाअन्तर्गत नै रहेको छ ।’ आट्र्री नेपाल र कलाकार थारूको सहकार्यमा कला तयार भएको कलाकृति पश्चिम तराईका विभिन्न स्थानबाट ल्याइएका हुन् । टीका वा गोदना एक समय नेपालको तराईमा प्रचलित चलन थियो । समयको प्रवाहले अहिले केही महिलाको हातबाट मात्र लेखिन्छ । पश्चिमा थारुले ‘गोदना’ भन्छन् भने पूर्वका थारुले ‘ठोप, गोदहा’ र ‘खोदहा’ भन्छन् ।
थारु शब्दमा खोप्ने कामलाई ‘गोदना’, ‘ठोप’ ‘गोदहा’, ‘खोदहा’ भनिन्छ । टीका, गोदाना, चेदना, लिलाजस्ता नामले चिनिने यो कला थारू महिलाका लागि विशेष महत्व राख्ने परम्परा हो । टीकाको अभ्यास भूमिपुत्र थारु इतिहाससँग प्रगाढ रुपमा गाँसिएको छ । थारु भाषामा ‘टीका लिखी’ भन्ने शब्दांशले यस कलाको महत्वप्रति संकेत दिन्छ । ट्याटुका डिजाइन थारू मिथक कथा, कृषि अभ्यास र तराईको वातावरणमा आधारित हुने गर्छ । टीकाले मातृवंशीय बन्धन कायम राख्ने काम पनि गरेको छ । थारू समुदायको सांस्कृतिक र परम्परागत कला अभ्यासलाई बचाए प्रकृतिसँगको मानव सम्बन्ध सधैँ बाँच्ने कलाकार उर्मिला थारूको विश्लेषण छ ।
० थारुको जल, जंगल, जमीनसँग नजिकको सम्बन्ध छ । यो परम्परा आज लोप हुँदैछ । जसको कारक तत्व सामन्तवाद र पुँजीवादका संरचनाहरुद्वारा जमिन र समुदायमाथि हुँदै आएको शोषणले मुख्य भूमिका खेलेको छ । उत्पीडन र भेदभावका कारण थारु समुदायको पहिचान चिनाउने सुस्पष्ट निशान गुम्दै गएको छ
यतिमा मात्र सीमित नभइ हस्तकलाका उत्पादनमा गोदना चित्राकृतको व्यापक प्रयोग हुने गरेको छ । टेक्सटायलदेखि सेरामिकसम्म र दैनिक प्रयोगका घरायसी सामग्री समेतमा गोदनाको आकृति भेटिन्छ । टीका एकै साथ तस्बिर, नक्सा र लेख हुन जुन एक पुस्ताको शरीरदेखि अर्को पुस्ताको शरीरसम्म हस्तान्तरण गरिन्छ । थारुको जल, जंगल, जमीनसँग नजिकको सम्बन्ध छ । यो परम्परा आज लोप हुँदैछ । जसको कारक तत्व सामन्तवाद र पुँजीवादका संरचनाहरुद्वारा जमिन र समुदायमाथि हुँदै आएको शोषणले मुख्य भूमिका खेलेको छ । उत्पीडन र भेदभावले गर्दा थारु समुदायको पहिचान चिनाउने सुस्पष्ट निशान गुम्दै गएको छ ।
कालान्तरमा गोदनासँग जोडिएका अनेक मिथक, कथा, कृषि अभ्यास र तराईको वातावरणमा आधारित हुँदै घर घरायासीका प्रधिनित्व गर्ने केही तत्वलाई मृत्युपछि आफ्नो आत्मासँग लैजाने सहयात्री भनेर पनि मानिन्छ । पाटन संग्रहालय विश्वसम्पदा स्थान हुनुका साथै १४औं शताब्दीदेखि १८औं शताब्दीसम्म मल्ल राजवंशको दरबारको भ¥याङको खुड्किलो उक्लँदै जाँदा एउटा कुनामा चिराचिरा परेको माटोको चौतारामा लहरै ‘घोर्वा’ अर्थात् घोडाहरु देख्न सकिन्छ । यी तराईमा देखिने सामान्य दृश्य हुन् । मध्य होस वा पूर्वी तराई वा पश्चिम तराई गाछीको फेदमा मलिलो माटोले लिपि पूजाआजा गरेको देखिन्छ ।
ब्रम्हदेवता, ग्रामदेवता, गहवर वा थान ठाउँ अनुसार जे भने पनि प्रयोजन गाउँको रक्षा यिनकै जिम्मामा रहेको हुन्छ । तराईका आदिवासी थारु समुदायको विश्वास अनुसार टेराकोटा इक्वाइन मूर्तिले विभिन्न पुख्र्यौली कुटुम्बसँग सम्पर्क कायम राख्न सहयोग पुर्याउँछन् । देवताका मूर्ति, घोडा, टट्टु, बजाउने पुलरु, थारू देवताहरूका माटोको आकृति हुन् । जसलाई मृत्तिका कलाअन्तर्गत राख्न सकिन्छ । ‘घोर्वा’ मध्येका चार मुख्य घोर्वाले चार जना पुख्र्यौली दाजु भाई ‘मोर्वा, मेर्वा, जगन्नाथया र रौराको प्रतिनिधित्व गर्दछन् । बेलन आकारको खुल्ला मुख भएको ‘घोर्वा’ रौरा हुन्, जसलाई चिन्न सबैभन्दा सजिलो हुन्छ ।
अरुलाई चिन्न उनीहरुको छाती र घाँटीको चिन्हले छुट्याइन्छ । यस्ता चिन्हका ढाँचा ठाउँ अनुसारले फरक पनि हुन सक्छन् । भनिन्छ, दाजुभाईमध्ये हरेकले एक एक प्रगन्नामा राज गरेका थिए । प्रगन्ना चाहिँ राणाकालमा मौजा र जिल्लाबीचको प्रशासनिक एकाई हो । यहाँ नेपालको मध्यपश्चिमको दाङ उपत्यकाअन्तर्गतका प्रगन्नाहरुमा शासन गर्थे । कान्छा रौरलाई घुमेर इच्छा लागेको ठाउँमा बसोबास गर्ने अनुमति थियो । ‘घोर्वा’ शक्तिको प्रतीक हो ।
तसर्थ घोर्वालाई शक्तिको केन्द्र मानिने क्षेत्रहरुमा राखिने चलन छ । ताकी यसले सम्पूर्ण गाउँको संरक्षण गरून् । एक पटक आगोमा हालिसकेपछि घोर्वामा चेतना आउँछ भन्ने लोकमान्यता पनि छ । यसका साथै तन्त्रमन्त्रका क्रममा विभिन्न आकृतिका मसान, भुत बोक्सीहरूको मूर्ति पनि बनाउने गरिन्छ । तराईका कुमाले समुदायका सदस्यले माटोको मूर्ति आगोमा पोलेर बनाउने परम्परा जीवित राखेका छन् । यस्ता मूर्ति बनाउने राख्ने चलन विशेष गरी दाङ र देउखुरी दंगौरा थारुमा रहेको छ । कालान्तरमा कयौं थारु परिवार दाङबाट बसाइसराई गरेकाले अहिले ‘धोर्वा’ नेपालको सम्पूर्ण तराई भेगमा पाउन सकिन्छ ।
कहिलेकाहीँ घोर्वा मन्दिरमा टुटेको अवस्थामा भेटिन्छ । यसो हुनुको कारण शक्तिका लागि आत्माबीच युद्ध हो भन्ने मान्यता रहेको छ । यिनै संघर्षको कथा धेरै कमलाई थाहा भएको इतिहास खोतल्ने प्रयास गरेको छ, कलाकार गोपाल कुमाल, बुद्धमान कुमाल, दुखराम चौधरी, सहदेव थारु, छोटु थारु र तुलसीराम थारुको सौजन्यले प्रस्तुत कलाकृतिले । यो कलाले कुनै समयमा शेखर दहितद्वारा लिखित पुस्तक ‘थारु जोधा’ पढ्दाको कथाको स्मरण गराउँछ । थारु जोधाका पात्र, स्थान, फरक पर्न सक्छ, तर यो समग्र थारु समुदायको प्रत्येक घर परिवारको कथा हो । नेपाल राज्यको निर्माणदेखि लोकतान्त्रिक संघीयतासम्म आइपुग्दा कहिँकतै थारु जोधा वीरता र सहिदको कहानीले ठाउँ पाएन । चिराचिरा परेको धर्ती हामी समुदाय, धर्म, जात, रङमा विभक्त हुँदै गएको बिम्व प्रस्तुत गरेको त छैन ? एउटा कलाकृतिले देशको यो अवस्थाको संकेत गर्नु शब्दले लेखेर सम्भव हुँदैन, यो अन्तर मनले मात्र अनुभूत गर्न सक्छ ।
कला बनाउने तौरतरिका र माध्यम क्यानभासबाट फेरिएको छ । यो क्यानभासमा मात्र सीमित नभइ अभिव्यक्तिको अर्काे आयाममा प्रवेश गरिसकेको छ । चिराचिरा परेको जमीन एउटा क्यानभास भएको छ । प्रश्न उब्जिएको छ, के वास्तवमा हाम्रो विविधताको रङ एउटै क्यानभासमा पोत्न सक्छौ ? पक्कै पनि कलाले सामाजिक सोच बदल्न सक्छ । अन्तर्राष्ट्रिय जगतमा उच्च प्रतिष्ठा आर्जन गर्न सक्छ भन्ने, सिद्धार्थ आर्ट फाउन्डेसनका निर्देशक संगीता थापाको परिकल्पना र चुस्तदुरुस्त व्यवस्थापनले आज देशमात्र होइन विदेश पनि एउटै क्यानभासमा पोतिएको छ, जसको आज सर्वाधिक खाँचो छ ।
प्रतिक्रिया