चोलीभित्र के होला…

काठमाडौं, २३ कात्तिक । राजधानीको दरबारमार्ग यसै पनि चहलपहल बढी हुने ठाउँ । गाडीहरूका चर्का हर्नले हिँड्नेहरूका आवाज मधुरा सुनिँदै छन् । सडकको यो कोलाहललाई पनि जितिरहेछ नजिकैको एउटा घरबाट आइरहेको आवाजले । बेलाबेलामा सिटी र तालीको आवाज अनि हुटिङ पनि सुनिइरहेछ । मानौं– कुनै सेलिब्रेसन चलिरहेछ । छिर्नासाथ देखियो, डान्सक्लबको जस्तो माहोल । नायिका सुमिना घिमिरे ग्ल्यामरस पहिरनमा छिन्, स्टेजमा । अनि उत्तेजक शैलीमा कम्मर मर्काइरहेछिन् । पृष्ठभूमिमा गीत बजिरहेछ– मेरो चोली यति राम्रो छ झन् भित्र के होला…?

सुमिनाका कामुक अदाहरूमा लट्ठ दर्शक नृत्यमा झुम्दै मनोरञ्जन लिइरहेछन् । बैंसालु सुमिना पनि मोहजाल फ्याँकेर दर्शकको ध्यान आफूबाट मोडिन दिइरहेकी छैनन् । दर्शकदीर्घामै देखिए, कलाकार सिपी र सानु ताम्राकार पनि । सीपी पनि सुमिनालाई हेरेर छाती सुमसुम्याउँदै अनि अलिअलि नाचेझैं गर्दै छन् । सुमिनाको फ्लाइङ किसको जवाफ दर्शकहरु पनि उसै गरी फर्काइरहेछन् । यत्तिकैमा कतैबाट आवाज आयो– कट । नाचिरहेकी सुमिना टक्क अडिइन् । दर्शकदीर्घामा पनि शान्ति छायो । सबै आआफ्ना सिटमा बसे । प्रसंग हो चलचित्र स्टारको । बुधबार दरबारमार्गस्थित इन्सुमिनिया डान्स लन्च बारमा यसको सुटिङ भइरहेको थियो । कलाकारहरू सुमिना, सिपी र सानु ताम्राकार सट दिइरहेका थिए ।
स्टारभित्र पनि चलचित्र निर्माणसम्बन्धी कथा छ । चलचित्रको कथाभित्र पनि सुमिना नायिका पात्रकै भूमिकामा छिन् भने प्रोड्युसर हुन्छन् सीपी पौडेल । यो चलचित्रको आइटम गीत हो । ‘सेक्सी अनि ग्ल्यामर नृत्यमार्फत नायिकाले प्रोड्युसरलाई आफूतिर आकर्षित गराउने सिन छ । आज त्यसैको छायांकन गरिएको हो’, नृत्यनिर्देशक शिव विकले प्रस्ट्याए ।
सुमिनाले हिरोनी बन्नका लागि अनेकौं संघर्ष गर्ने केटीको भूमिकामा अभिनय गरेकी रहिछन् । ‘एउटा निकै सेक्सी र ग्ल्यामरस आइटम गीत पनि छ, जसमा मैले सबैलाई आफूतर्फ आकर्षित गर्नु छ, अहिले त्यसैमा नाचेकी हुँ’, उनले भनिन् । अहिलेसम्म आफूले अरू कुनै चलचित्रमा नदिएका हट सिन यसमा दिएकाले चर्चा पनि बढी कमाउने दाबी उनले गरिन् । चलचित्रले प्रस्तुत गरेका नायिका हुनुअघिको संघर्ष, अवसर पाउँदाको अवस्था अनि चर्चा कमाइसकेपछिका मनोविज्ञान आफ्नो जिन्दगीसँग पनि मिल्ने खालको रहेको उनले बताइन् । भनिन्– ‘म आफैं पनि संघर्ष गरेरै चलचित्र क्षेत्रमा यहाँसम्म आइपुगेकी हुँ, यसबाट आफ्नो करियर अझ निखारिने विश्वास लिएकी छु ।’
अहिलेसम्म प्राय: हास्य भूमिकामा देखिँदै आएका सीपी स्टारमा चाहिँ निर्माताको भूमिकामा छन् । ‘आफूले लगानी गरेको चलचित्रको आइटम गितमा हिरोनीको आकर्षक नाच देखेपछि राम्रै ठाउँमा लगानी गरेको रहेछु भनेर उत्साहित हुने अभिनय अहिले गरेको हुँ’, भर्खरैको सटबारे सीपीले प्रस्ट्याए । गीतको अन्त्यमा नेवारी भाषाको एउटा हरफ पनि रहेछ । ‘त्यसमा चाहिँ मैले अभिनय गर्दै छु’, सानुले पनि भनिहाले । संगम भिजन प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्र महेन्द्र बुढाथोकीले निर्देशन गर्दै छन् । पाँच–छ वर्षको अन्तरालमा निर्देशनमा फर्किएको उनले भने– ‘चलचित्र एउटा नसा हो, त्यसैले मलाई तानेर ल्यायो । निर्देशनमा लामो ग्याप रहे पनि चलचित्रसम्बन्धी अरू विधामै कार्यरत थिएँ ।’
स्टारमा नीरज बराल ,सुमिना घिमीरे ,श्याम घिमीरे , रमेस बुढाथोकी , गणेस उप्रेती , रुपा खनाल , सिपी पौडेललगायत कलाकार प्रमुख भुमिकामा छन् । सर्वज्ञमान शाक्य र अर्जुन पोखरेलको संगीत, सुरेश वज्राचार्यको छायांकन, शिव विकको नृत्य तथा दयाराम पाण्डे र निर्देशक महेन्द्रकै गीत छ। छायांकनको अन्तिम चरणमा रहेको चलचित्र फागुनतिर प्रदर्शन गर्ने योजना रहेको बुढाथोकीले बताए ।

प्रतिक्रिया