काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा पनि सहभागी हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भइरहेको जानकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका हुन् । यस विषयमा सत्तारुढ गठबन्धन दलहरुबीच छलफल भइरहेको प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउन माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केही त्याग गर्नुपर्ने धारणा पनि ब्यक्त गरे । सुदूरपश्चिम प्रदेश सरकारमा हाल एकीकृत समाजवादीले सबैभन्दा बढी मन्त्रालय पाएको छ । ‘सुदूरपश्चिम प्रदेश सरकारमा अहिले कांग्रेसको सहभागिता छैन । यस विषयमा सत्तारुढ गठबन्धन दलहरुबीच बैठकमा पनि छलफल भएको छ’, कैलालीको धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने ।
प्रदेश सरकारमा मन्त्रालयको सँख्या थप गर्ने अवस्था नरहेकाले पनि सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादीले त्याग गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘मन्त्रालयको सँख्या थप गर्न सकिने अवस्था छैन । त्यसैले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादी (माधव जी) ले नै त्याग गर्नुप¥यो भनेर अनुरोध गरेका छौं ।’
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन कांग्रेसले नै माग गरेको दाबी पनि प्रचण्डले गरेका छन् । ‘स्थानीय निकायको निर्वाचन नजिकिएपछि कांग्रेसले नै सुदूरपश्चिम प्रदेशमा पनि सहभागिता खोजेको हो । अन्य प्रदेशमा पनि गठबन्धन दलहरुको प्रतिनिधित्व छ’, प्रचण्डले भने ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि यस विषयमा आफ्नो पार्टीभित्र छलफल गर्ने आश्वासन दिएको प्रचण्डले बताए । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माग गरेको जानकारी पनि प्रचण्डले दिए ।
अध्यक्ष प्रचण्डले स्थानीय निकायको आगामी निर्वाचनमा पनि गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर अगाडि बढ्ने तयारी भइरहेको समेत बताए । ‘आगामी निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेलको प्रयास भइरहेको छ । यस विषयमा छिट्टै एउटा टुंगोमा पुगिएला’, उनले भनेका छन्, ‘प्रधानमन्त्रीले पनि गठबन्धनलाई असर पार्ने कुरा नबोल्न आफ्नो दलका नेता/कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।’
प्रतिक्रिया