काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन कृयाकलापले नगरबासीलाई आक्रोशित बनाएको छ । मेयर महर्जनले विधि र प्रकृयासमेत मिचेर मनोमानी ढंगले काम गरेको भन्दै पार्टीभित्र नै प्रश्न उठ्न थालेको छ । महर्जनको अनियमितताबारे महलेखापरीक्षककोे प्रतिवेदनमा थुप्रै प्रश्न उठाएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३ मा खर्च गर्ने अख्तीयारी र कार्यविधिको उपदफा ७ मा कार्यपालिका सभाबाट स्वीकृत सीमा र शीर्षक बाहिर गई बजेट खर्च गर्न पाउने छैन भनी स्पष्ट उल्लेख भएपनि जथाभावी खर्च रोकिएको छैन ।
ललितपुर महानगरपालिकाको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनलाई कार्यपालिकाको बैठकमा छलफल गरीे अन्तिम लेखा परीक्षण प्रतिवेदन पारित गर्नु पर्नेमा सो नगरी बैठकबाट पारित भएको भनि सम्वन्धित निकायहरूमा झुठो जानकारी गराउने गरेका छन ।
ललितपुर महाानगरपालिकाको २०७८/७९ सालको कार्यक्रम तथा बजेट तर्जुमा गर्ने सन्दर्भमा स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार नगरप्रमुखको संयोजकत्वमा सात सदस्यीय श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र नगरउपप्रमुखको संयोजकत्वमा सात सदस्यीय राजश्व परामर्श समिति गठन गरेकोमा दुबै समितिले कार्यादेश अनुसार कार्य गर्न नसकेको कारणले छैठों नगरसभामा ब्यापक बिरोध गरेको थियो । अन्तमा २०७८/७९ सालको कार्यक्रम तथा बजेट पारीत गर्नका लागि विपक्षसंग विभिन्न चरणमा लिखित सहमति गरी अन्तत २०७८ असार ३१ गते राति १ वजेमात्र कार्यक्रम तथा बजेट पारीत भएको थियो ।
नीतिगत मात्रै होइन अन्य अनियमिततामा पनि मेयर चिरीबाबु महर्जनको नाम जोडिने गरेको छ । डिस्कभरी पार्किङ नामको संस्थालाई बिना टेण्डर पांच बर्षका लागि दिएको ठेक्का सबैभन्दा विवादास्पद भएको थियो । यस सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी कारवाही समेत शुरु भएपछि हाल आएर उक्त ठेक्का रद्द गरिएको छ ।
ललितपुर महानगरपालिका–११ शंखमुलमा स्थानीय जनताको ब्यापक विरोध हुदाहुदै बाक्लो बस्ती बीचमा विद्युतीय शवदाह गृह निर्माण गर्न प्रचलित मूल्य भन्दा झण्डै डबल मूल्यमा जग्गा खरिद गरिएको छ । त्यहांको चलेको दर प्रति आना १७ लाखमा बेच्न तयार भएको जग्गालाई प्रति आना ३० लाखमा दुइ रोपनी खरिद गरेको स्थानीयको आरोप छ । स्थानीय जनता भने कुनै पनि हालतमा विद्युतीय शवदाह गृह निर्माण गर्न नदिने भनी आन्दोलनमा उत्रेका छन । स्थानीय विपिन महर्जनले स्थानीय जनताको भावना विपरीत महानगरले बलजफ्ती गरेर शवदाह गृह बनाउन खोजेको बताए ।
नगरप्रमुख चीरीबाबु महर्जनले जनताबाट उठाएको कर रकमलाई नगर सभा, कार्यपालिका बैठकबाट पारित नगरी आफनो नीजि सम्पत्ति सरह लाखौं रकम चन्दा दान दातव्यको रुपमा वितरण गर्ने गरेको अर्को आरोप छ । मेयर महर्जनले नेपाली कांगे्रस ललितपुरका जिल्ला सभापति मदनबहादुर अमात्यको ठाडो आदेशमा कल्पना महर्जनलाई सगरमाथा आरोहण गर्न तीस लाख आर्थिक सहयोग गरेका थिए । त्यस्तै चितवनमा क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनलाई बीस लाख दिएका थिए । नियम विपरीत विभिन्न बहानामा आफना निकटका व्यक्ती तथा संस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएको लिष्ट निक्कै लामो छ ।
नेपाल सरकार, भौतिक योजना मन्त्रालय अन्र्तगतको सडक विभागको सडकको स्थापित मापदण्डलाई बेवास्ता गरी बिना कुनै अध्ययन खुब प्रचार प्रसार सहित ल्याइएको साईकल लेन अहिले अलपत्र परेको छ । यसमा महानगरको करीब पचास लाख खर्च भएको छ । ललितपुर महानगरपालिकाको कर्मचारी संगठन संरचनामा दरबन्दी नै नभएको ठाउमा नेपाल प्रहरीका पुर्व निरीक्षक सीताराम हाछेथुंलाई बार्षिक ५ लाख पारीश्रमिक दिने गरी तोक आदेशको भरमा बरीष्ठ प्रहरी निरीक्षकमा २०७७ भदौ ५ गते एक बर्षका लागि नियुक्ती गरियो । यसको चौतर्फी विरोध भएपछि हाछेथुको नियुक्तीलाई २०७८ साल असार ३१ गते मध्यराति सम्पन्न छैठौ नगर परिषदको बैठकवाटे नियुक्ती बदर गरी सल्लाहकारमा नियुक्ती गर्ने निर्णय भयो । तर नगरपरिषदको निर्णयलाई बेवास्ता गरी युनिफर्म सहितको प्रहरी कर्मचारी सरह एक्सन पुलिस टिम गठन गरी जनपद प्रहरीको सरह काम लगाएका छन् ।
जगदम्वा महारानीले ललितपुर महानगरपालिका– ३ पुल्चोकमा रहेको प्रतिष्ठित मदन स्मारक माध्यमिक विद्यालयका लागि २००४ सालमा २० रोपनी ११ आना जग्गाा दान दिई त्यस समयदेखि बिद्यालय सन्चालन भई आएको जग्गालाई क्लासिक डाईमण्डलाई लामो अवधिको लिजमा व्यापारिक भवन निर्माण गर्न अनुमति दिइएको छ । बाटोका कारणले अप्ठेरो परेको र सर्वोच्च अदालतलेसमेत अन्तरिम आदेश दिएका कारणले रोक्का रहेको थियो । नगरप्रमुख चिरिबाबु महर्जन आफैले चासो लिएर पैंतिस लाखको खर्चमा स्थानीयको विरोधका बावजुद बाटो फराकिलो बनाउने नाममा स्कुलको कम्पाउण्ड भत्काइएको छ । यसरी बलपुर्वक विद्यालयको जग्गालाई मात्र मिच्नुको प्रमुख कारण क्लासिक डाईमण्डलाई भवन निर्माणका लागि सहज बनाउने एकमात्रै स्वार्थ रहेको स्थानीयको आरोप छ ।
ललितपुर महानगरपालिकाको भवन नजिक रहेको ऐतिहासिक नस्त्वा पलेस्वां पुखु (कमल पोखरी)लाई स्थानीय ब्यक्तीहरुले पोखरी नै निर्माण गर्नका लागि अनुरोध गर्दा गर्दै पनि कमिशनको लोभमा पर्यटन बर्ष २०२०को लागि मात्र प्रयोग गर्ने कबुल गरी पार्किङ बनाइएको थियो । तर टेण्डरको म्याद समाप्त भैसक्दा पनि अहिलेसम्म पनि आर्थिक लाभ लिएर निरन्तरता दिएको छ ।
नगरप्रमुख चिरिबाबु महर्जनको मिलोमतोमा आफनै निवास भएको वडा नं ३ पुरानो नारायणी होटलको अगाडीको पर्ति जग्गामा विभिन्न व्यक्तीहरुलाई व्यवसाय गर्न दिइएको छ । त्यस्तै पुल्चोकबाट झम्सीखेल जाने बाटोको पर्ति जग्गालाई चौधरी ग्रुप अन्र्तगतको अरुण ईन्टरकन्टीनेन्टलको सुजुकी शोरुम निर्माण गर्न दिइएको छ । त्यस्तै व्रिटिश स्कुलले पनिे मिलोमतोमा सार्वजनिक जग्गामा पार्कीग सुविधा पाएको छ ।
ललितपुर महानगरपालिकाको भवन नजिकै रहेको ब्यापारीक भवन लविम मलले महानगरपालिकालाई धेरै बर्ष देखि कुनै कर तिरेको छैन । राजश्वका कर्मचारीहरुले कर उठाउने प्रयास गर्दा नगरप्रमुख चिरिबाबु महर्जनले ‘साथीहरु हुन बलजफती नगर्नु’ भन्दै रोक्ने गरेका छन् । मलले हाल करीब रु सात करोड कर तिर्न बाकी छ । कर नउठाएकोमा महालेखापरीक्षकको प्रतिवेदनले पनि प्रश्न उठाएको छ ।
ललितपुर महानगरपालिकाको वडा नं ७, ८, ९, १५, २५, २६ भै बग्ने प्रमुख नदीहरु कर्मनाशा तथा नक्खु नदीलाई अतिक्रमण गरीे भूमाफियाहरुले नगरप्रमुखको सहमतिमा जग्गा प्लटिग गरिरहेका छन् ।
ललितपुर महानगरपालिका भवनको अगाडी रहेको आइल्याण्डको मम्र्मत सभार व्यवस्थापन गर्नका लागि दुई बर्षको सहमति भएकोमा र सहमति पत्रमा प्रमुख प्रशासकीय अधिकृतले दस्तखत समेत भएको लाई नगरप्रमुखले त्यस्लाई दस बर्षको बनाई पुनः दस्तखत गरेको समाचार यस अघि नै सार्वजनिक भैसकेको छ । नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुरका जनताको धर्म संस्कृति संरक्षणमा अभिभावकीय भुमिका खेल्न अक्षम भएको भन्दै महानगरबासिको ब्यापक असन्तुष्टी रहेको छ । जात्रा संचालन गर्ने गुठीयारहरु अर्थात धकु भई कार्य गर्ने नारायण ब्यन्जनकार, श्याम महर्जन, ताई महर्जन, बुद्ध महर्जन र कविन शाक्यले असन्तुष्टी जनाउदै राजीनामा गरेका छन । नगर प्रमुख महर्जनले प्रतिपक्षको विरोधको डरले नियमित बैठक नै राख्दैनन् । स्थानीय सरकार संचालन ऐनको बाध्यकारी व्यवस्थाले छैठौं नगर परिषद गत असार १० गते डाकिएको थियो । बहुमतको व्यापक बिरोधका कारण लिखित माफी मागेपछि मात्रै २१ औं दिनमा नगर परिषद सकिएको थियो । नगर परिषद लम्बिदा महानगरको लाखौं खर्च भएको छ ।
प्रतिक्रिया