कांग्रेस प्रवक्ताले भने, ‘एमसीसीबाट पछि हट्दैनौं’

काठमाडौं । सत्तारुढ दल कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् । गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको पनि उनको भनाइ छ । ‘यो कसरी राष्ट्रघाती र राष्ट्र विरोधी भयो ? सेना आउँछ भनेको छ, काम छैन अमेरिकाको ? किन आउँछ, यो अचम्म छ । यो नेपालको इतिहासमा यस्तो झुटो र नियोजित प्रचार कहिल्यै भएको थिएन,’ प्रवक्ता महतले भने ।

देशभर घुमेर पनि एमसीसीको पक्षमा माहोल बनाउन सम्भव नभएको उल्लेख गर्दै उनले भने, ‘धरै पटक भन्यो भने झुटो पनि सत्य हुँदो रैछ । साँचो पनि झुटो हुँदो रहेछ । हाम्रो मागअनुसार परियोजना आएको हो , हामीले निवेदन दिएको हो । त्यतिबेला माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, नारायणकाजी परराष्ट्रमन्त्री । अहिले विरोध गर्नेहरू मन्त्री भएर अनुमोदन गर्ने अर्थात् २०१२ देखि २०१७ सम्म सबै दल र नेताहरूको प्रयासमा टुंगो लागेको हो ।’ एमसीसी सम्झौता संसद्‍बाट पास गर्न प्रमुख प्रतिपक्षी दल एमालेले समेत सहयोग गर्ने विश्वास रहेको प्रवक्ता महतले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍बाट अनुमोदन गराउनका लागि सबैसँग सरसल्लाह गरिरहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया