संकटमा बेलायती प्रधानमन्त्री जोनसन

लण्डनं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमाथि पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ । बेलायतमा लगाइएको पहिलो लकडाउनका बेला कार्यालयभित्रै विभिन्न समयमा मदिरासहित भोज आयोजना गरेको तथ्य बाहिरिएपछि पार्टीभित्र र बाहिर जोनसनको चर्को आलोचना हुन थालेको हो ।

जोनसनले समेत पहिलो लकडाउनका बेला प्रधानमन्त्री कार्यालयभित्र मदिरासहित भोज (पार्टी) आयोजना गरेको स्वीकारिसकेका छन् । उनले २०२० को मे महिनामा डाउनिङ स्ट्रिटस्थित कार्यालयमा भएको भोजका लागि माफी समेत मागेका छन् ।

जनतालाई लकडाउन गरेर घरभित्रै थुनेको, तर आफू भने मोजमस्ती गरेको तथ्य बाहिरिएपछि सत्तारुढ दल कन्जर्भेटिभ पार्टीका वरिष्ठ नेताहरूले जोनसनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन भनिरहेका छन् । केही दिन अघि स्कटल्याण्डका कन्जर्भेटिभ नेता डगलस रोससहित सत्तारुढ सांसद विलियम ¥याग, क्यारोलिन नोक्स र रोजर गेललगायत नेताहरूले जोनसनको राजीनामा मागेका थिए । ‘उहाँ प्रधानमन्त्री हो र उहाँको सरकारले यी नियम लागू गरेको हो’, सांसद समेत रहेका नेता रोसले बीबीसीसँग कुरा गर्दै भनेका थिए, ‘उहाँ आफ्नो कार्यप्रति जवाफदेही बन्नुपर्छ ।’

सार्वजनिक तथा संवैधानिक मामिलाका अध्यक्षसमेत रहेका ¥यागले लकडाउनमा भोज गरेका कारण जोनसन रक्षात्मक अवस्थामा पुगेको भन्दै राजीनामा दिन भनेका थिए ।

पार्टी काण्ड बाहिरिएपछि संकटमा परेका जोनसनविरुद्ध सत्तारुढ दलका सांसदले थप मोर्चाबन्दी कस्न थालेको बेलायती समाचार माध्यमले जनाएका छन् ।

सत्तारुढ कन्जर्भेटिभ दलका असन्तुष्ट सांसदले प्रधानमन्त्रीलाई दलको नेताबाट हटाउन चाहिने आवश्यक हस्ताक्षर संकलन गर्ने प्रयास गरिरहेको समाचारमा उल्लेख छ । मंगलबार मात्रै सत्त सत्तारुढ दलका झण्डै १५ प्रतिशत सांसदले जोनसनलाई पदबाट राजीनामा दिन भनेका छन् । बुधबार नै झण्डै २० जना सांसदले सामूहिक रुपमा जोनसनविरुद्ध अविश्वासको पत्र बुझाउने गोप्य तयारी गरेका छन् ।

प्रधानमन्त्रीलाई हटाउने गोप्य योजनामा लागेका २० सांसदमध्ये अधिकांश २०१९ मा निर्वाचित भएका हुन् । उनीहरूले गरेको भनिएको गोप्य लन्चमा सत्तारुढ दलभित्र नयाँ नेतृत्व चयनका लागि चाहिने आवश्यक संख्या पेश गर्नेबारे छलफल भएको बताइन्छ ।

जोनसनलाई दलको नेताबाट हटाउन भएको गोप्य योजनाको अगुवाई सांसद एलिसिया किअर्न्स र डेहेन्ना डेभिसनले गरेको बताइन्छ । एलिसियाको संलग्नताका कारण जोनसनविरुद्ध भएको कू प्रयासलाई ‘पोर्क पाइ प्लट’ समेत भनिएको छ ।  ‘उनको समय सकिएको छ’, एक जना सांसदले जोनसनलाई हटाउनु पर्ने दिन आएको भन्दै द टेलिग्राफलाई भने ।

कम्तिमा ५४ जना सांसदले हस्ताक्षरसहित अविश्वासको पत्र पेश गरेमा नयाँ नेतृत्व चयनका लागि मतदान हुने व्यवस्था छ । आइतबारसम्म ३५ जना जोनसनलाई दलको नेताबाट हटाउन सहमत भएका छन् । यदि थप २० जनाले हस्ताक्षरसहित पत्र पेश गरेमा कन्जर्भेटिभ पार्टीको नयाँ नेताका लागि चुनाव हुनेछ ।

प्रधानमन्त्रीलाई दलको नेताबाट हटाउने गोप्य योजना बाहिरिएपछि जोनसनका सहयोगीले उक्त योजनालाई ‘कू प्रयास’ भनेका छन् । ‘यो निकै घृणित कुरा हो । उनीहरू जोनसनकै कारण निर्वाचित भएका हुन्’, एक मन्त्रीलाई उदृत गर्दै द टाइम्सले लेखेको छ, ‘उनीहरू कोही होइनन् र केही गर्न सक्दैनन् ।’

प्रतिक्रिया