बाढी प्रभावितलाई राहत वितरण

कञ्चनपुर । बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले गैरखाद्य, स्वास्थ्य, सरसफाई सामग्रीसँगै नगद वितरण गरेको छ । वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा–१२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट र रेडक्रस उपशाखा झलारीका सभापति शेरबहादुर साउदले संयुक्त रूपमा राहत सामग्री वितरण गरेका हुन् ।

वितरण गरिएको सामग्रीमा त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा, बच्चाका कपडा, रुमाल, बाल्टी, डोरी, डिग्नी किट, हाइजेनिक किट, हेल्थ किट, झुलसँगै पानी शुद्धीकरण गर्ने क्लोरिन ट्याबलेटलगायत रहेका छन । राहत सामग्री वितरण गरिएका परिवारलाई घर मर्मत गर्न, काँटा किलाको व्यवस्था गर्न र शौचालय मर्मतका लागि नगद रकमसमेत बैंक खातामार्फत उपलब्ध गराइएको शाखाका कोषाध्यक्ष भट्टले जानकारी दिए ।

‘१३ भदौमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई राहत सामग्री उपलव्ध गराएका छौँ’ उनले भने, ‘जिल्लाका बाढीबाट प्रभावित भएका २ सय ७८ परिवारको अनुसन्धान गरी त्यसबाट छनोट गरिएका १ सय ५० परिवारलाई राहत सामग्रीका लागि छनोट गरेका छौँ । छनोटमा परेका परिवारलाई राहत सामग्री उपलब्ध गराएका छौँ ।’

राहत वितरणका लागि छनोटमा परेका पुनर्वास नगरपालिकाको सिमरीका १ सय १४ परिवारलाई समेत गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्रीसँगै नगद राहत वितरण गरिने उनले बताए । सिमरीका बाढी प्रभावित परिवारलाई नगद राहत सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उनले एक÷दुई दिनभित्रै राहत सामग्री वितरण गरिने बताए ।

राहत दिनैपर्ने अवस्थाका ४० परिवारलाई १३ हजार ५ सयका दरले घर मर्मतका लागि, ४० परिवारलाई दुई हजारका दरले किलाकाँटाका लागि र १० परिवारलाई शौचालय मर्मतका लागि नगद सहयोग उपलब्ध गराइएको छ । गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्रीअन्तर्गत बाढी प्रभावितलाई एनएफआरई सय थान, डिग्नी किट ३० थान, हाइजेनिक किट सय थान र क्लोरिन ट्याबलेट ६० हजार वितरण गरिएको छ ।

यही कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट प्रभावित तत्काल राहत उपलव्ध गराउनुपर्ने २ सय ५० दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका परिवारलाई गैरखाद्य, स्वास्थ्य, सरसफाइ सामग्रीसमेत रेडक्रसले वितरण गरेको छ । ‘बेमौसमी वर्षाबाट प्रभावित परिवारको विवरण संकलन गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘विवरण संकलन भइसकेपछि राहत वितरणको अगाडि बढाइनेछ ।’

प्रतिक्रिया