सिन्धुलीको फापरचुली भ्यू टावर निर्माण अलपत्र

सिन्धुली । सम्झौता भएको एक वर्ष बितिसक्दा पनि सिन्धुलीको घ्याङलेख गाउँपालिकाको फापरचुली भ्यू टावर निर्माण सुरु हुन सकेको छैन । घ्याङलेख गाउँपालिका– २ फापरचुलीमा भ्यू टावर निर्माणको लागि एक वर्ष अगाडि ठेकेदार सुवास सिं वाइबासँग सम्झौता भएको थियो । भ्यू टावर १ करोड १७ लाख लागतमा यही कात्तिकमा निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिए । सम्झौताअनुसार यही कात्तिक महिनामा भ्यू टावर निर्माण गरिसक्नुपर्ने भए पनि हालसम्म निर्माणको काम सुरु हुन सकेको छैन । भ्यू टावर निर्माणका लागि गाउँपालिकाले पेश्की बापत २० लाख रकम ठेकेदारलाई दिइसकेको छ ।

‘हामीले पेश्की बापत्को रकम २० लाख ठेकेदारलाई दिइसकेका छौँ । एक वर्ष भइसक्यो काम सुरु पनि भएको छैन । ठेकेदार नै सम्पर्कविहिन छ’, अध्यक्ष भोलनले भने । सम्झौता भएको एक वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुन नसक्दा भ्यूटावर निर्माणको काम नै अलपत्र परेको छ । गाउँपालिकाको कार्यपालिका बैठकमा भ्यूटावर निर्माणको विषयमा छलफल गरी छिट्टै टावर निर्माणको पक्रिया अगाडि बढाउने अध्यक्ष भोलनको भनाइ छ ।

गाउँपालिकाको सबैभन्दा अग्लो उचाइमा रहेको फापरचुलीमा धार्मिक स्थलसमेत रहेकाले भ्यु टावर निर्माण गर्न लागिएको उनले बताए । ‘पालिकाको एकदमै रमणीय ठाउँ भनेकै फापरचुली हो । धार्मिक स्थल साथै सबैभन्दा उचाइमा रहेको ठाउँलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले भ्यूटावर निर्माण गर्ने निर्णय गरेका थियौँ । गाउँपालिकाले भ्यूटावर निर्माणका लागि एक करोड बजेटसमेत विनियोजन गरिसकेको थियो’, अध्यक्ष भोलनले भने । गाउँपालिकाले फापरचुलीलाई पर्यटकीय क्षेत्र बनाउने र आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यले भ्यूटावर निर्माण योजना बनाए पनि निर्माणको काम अलपत्र परेको छ । यता निर्माण व्यवसायी सुवास सिं वाइबासँग भने सम्पर्क हुन सकेन ।

यसैबीच सिन्धुलीमा बाह्य र आन्तरिक पर्यटनलाई लक्षित गदै धमाधम भ्यूटावर निर्माण हुन थालेका छन् । भ्युटावर निर्माण गर्न सिन्धुलीमा संघ, प्रदेश र स्थानीय सरकारले बजेट खन्याइरहेका छन् । जिल्लाको फिक्कल गाउँपालिका–३ चनौटेमा दुई करोड लागतमा भ्यूटावर निर्माण भइसकेको छ । समुद्र सतहबाट २३ सय ६८ फिट उचाइमा रहेको चनौटे भ्यूटावरबाट तराईका जिल्ला साथै १४ हिमालको दृश्य अवलोकन गर्न पाइने फिकक्ल गाउँपालिका–३ का वडाध्यक्ष टेकरजन मगरले बताए । संघ, प्रदेश र स्थानीय सरकारको लागतमा लगभग नौ वर्षमा उक्त भ्यूटावर निर्माण सम्पन्न भएको उनले जानकारी दिए । यस्तै, कमलामाई नगरपालिका–४ मा लगभग साढे २ करोड लागतमा शिद्धबाबा भ्यू टावर धमाधम निर्माण भइरहेको छ । बागमती प्रदेशको २ करोड ४८ लाख ६२ हजार लागतमा टावर निर्माण भइरहेको छ । गत ६ पुसबाट निर्माण सुरु भएको भ्यूटावर यहि १५ जेठमा निर्माण सम्पन्न गरिने सम्झौता भएको थियो । कोरोना भाइरसका कारण निर्माण कार्य ढिला भएको निर्माण व्यवसायीले बताएको छ । भ्यूटावर सात मिटर हाइटको पाँचौँ तल्ला निर्माण भइरहेको छ ।

प्रतिक्रिया