रातोढुंगा सबस्टेसन अलपत्र

म्याग्दी । मालिका गाउँपालिका–६ रातोढुंगामा निर्माणाधीन सबस्टेसन अलपत्र परेको छ । तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सब स्टेसन अझै पूरा नभएको हो । सब स्टेसन निर्माणमा भएको ढिलाइले जिल्ला पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको रनबाङका जीवन कार्कीले बताए । ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलनचोकदेखि रातोढुंगा जोड्ने प्रसारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताए । सब स्टेसनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

‘६ सयमध्ये तीन ठाउँमा करिब ८० खम्बा गाड्न र तार तान्न बाँकी छ’, उनले भने, ‘बाँकी खम्बा गाड्न र तार तान्न नपाउँदा आयोजनाले पूर्णता पाउन सकेको छैन ।’ खम्बा पर्ने जग्गाका धनी र वन समूहको अवरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि रातोढुंगा जोड्ने २२ किलोमिटर दुरीको प्रसारण लाइन निर्माण एक वर्षदेखि रोकिएको ढकालले बताए ।

गाउँपालिका र स्थानीय प्रशासनमार्फत गरिएको पहल सफल नभएको जनाउँदै उनले तिहार लगत्तै पुनः छलफलका लागि आउने बताए । नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनियरिङले आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सब स्टेसन प्रसारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।

सबस्टेसन बनाउन सात रोपनी जग्गा अधिग्रहण गरिएको थियो । सब स्टेसन वरपरका जग्गाधनीले बाटो बनाउन, घेराबार पर्खाल लगाउन र प्रसारण लाइनको तार तान्न अवरोध गरेको ठेकेदारले बताएका छन् । बर्खामा केही ठाउँमा गाडेका खम्बा बगाएको छ ।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरवाहीका कारण अहिलेसम्म पूरा नभएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘जग्गाधनी र वनलाई देखाएर उहाँहरूले काम रोक्नुभएको छ’, उनले भने, ‘सहजीकरण गरेर रोकिएको काम अघि बढाउन खोज्दा आयोजना र निर्माण व्यवसायी सम्पर्कमा आउनुभएन ।’

एक वर्षपछि गत पुसमा काममा फर्किएका आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदुर वैशाखमा निषेधाज्ञा भएपछि सम्पर्कविहीन बनेका रातोढुंगाकी तारादेवी रोकाले बताए । उनले निर्माण व्यवसायीले स्थानीय होटलमा खाजा, खाना खाएको रकमसमेत नतिरी गएको गुनासो गरे ।

सब स्टेसन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मंगला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए ।
‘हाल मिलनचोक सब स्टेसनबाट चार वटा फिडरबाट लामो दुरीमा विद्युत् आपूर्ति गराउदा समस्या भएको छ’, उनले भने, ‘२० किलोमिटर दुरीसम्म एउटा सब स्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्तिमा समस्या भएको छ ।’

प्रतिक्रिया