पर्वत । ‘गरे के हुन्न नगरे केही पनि हुन्न’ यो भनाइ हो पर्वत जिल्ला कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीको । यो भन्नुको अर्थ यो हो कि उनी पैसा कमाउनका लागि देशदेखि परदेशसम्म पुगे, इराकमा अमेरिकी सेना र आतंकवादीबीचको लडाइँमा बचेर अन्ततः उनी स्वदेशमै फर्किए । बिभिन्न हण्डर ठक्कर झेलेर नेपाल फर्केका उनी नेपालको माया नेपालीत्व खै कसरी बयान गरुँ । क्षेत्री भन्छन, ‘त्यो विदेशी मुलुक सकेसम्म कोही नजानु न खाने समय न आराम गर्ने, यतिसम्म कि कति बेला मरिन्छ या बाँचिन्छ थाहा नै नहुने ।’
तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उनको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । मर्ने बाँच्ने ठेगान नहुँदा नहँुदै बाँचेर फर्किएका उनले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बंगुरपालन व्यवसाय सुरु गरे । रणभूमिमा बसेर दिनरात परिवारको सम्झनामा आँखाभरि आँसु मर्नुभन्दा स्वदेशमा बंगुर पाल्न मजा मानेका गौरव अहिले जिल्लाकै सफल व्यवसायीका रूपमा चिनिन्छन् । उनी भन्छन्, ‘आफ्नो देशमा त आफ्नो काम ग¥यो बस्यो न मरिने डर न कसैले धम्की देला भन्ने त्रास ।’
सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेका छन् । इराकमा मासिक ७० हजार रुपैयाँ कमाउने उनले बंगुर पालनबाटै मासिक डेढ लाख बचत गर्दै आएका छन् । नेपाली समाजमा केही जातलाई बंगुर पाल्न नहुने जातका रूपमा हेरिन्छ । ब्राह्मण क्षेत्री समुदायमा त सुँगुर÷बंगुर छुनै हुँदैन, छोएमा जात जान्छ समेत भनिन्छ । यस्तो सोच बनाउनेहरूसँग विभिन्न चुनौतीको सामना गर्दै व्यवसाय अगाडि बढाएको बताउँछन् क्षेत्री ।
विदेशीको गुलाम बन्नुभन्दा आफ्नो देशमा जे गरे पनि कसैलाई पनि भोकमरीको स्थिति नआउने बताए । उनले भने, ‘अहिले सरकारले पनि कृषि अथवा कुनै पनि व्यवसाय गर्नलाई सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था गरेको छ यस्तो सुविधा हाम्रैै लागि त हो ।’ लगानी गर्ने पैसा नभएर विदेशी पर्ने स्थिति छैन । केही लाखको लगानीबाट सुरु गरेको उनको व्यवसाय सात वर्षको अवधिमा फार्ममा झन्डै एक करोड रुपैयाँ लगानी गरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पर्वतबाट बंगुरको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रमबाट ३ लाख ५० हजार अनुदानसमेत पाएको क्षेत्रिले बताए । क्षेत्रीले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बंगुरलाई ८५ हजार रुपैयाँमा बेचेका छन् । उनले बजारको मागअनुसारको धेरै उत्पादन गर्न सकेका छैनन् । उनको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बंगुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जा लगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्नसके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाई छ ।
प्रतिक्रिया