लहान । सिरहा प्रहरीले विगतमा चाडपर्वका बेला भएका अपराधिक गतिविधी र यस वर्ष हुन सक्ने सम्भावित घटनाको विश्लेषण गर्दै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ । तिहारसँगै टोलटोलमा प्रहरी परिचालन गर्दै सिरहाको लहान, मिर्चैया र गोलबजार लगायतको सुरक्षा व्यवस्था कडा पारेर लगिएको छ । शंकास्पद गतिविधि गर्ने, चोरी, लुटपाट, डकैती लगायतका अपराध गर्न खोज्ने, मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला एवं शान्ति सुरक्षाको अवस्था भड्काउन खोज्नेमाथि विशेष ढंगले निगरानी बढाइएको सिरहा प्रहरीप्रमुख एसपी हिराबहादुर पाण्डेले जानकारी दिए । सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी गर्न प्रहरीको विशेष टोली खटिएको छ ।
चाडपर्वका बेला अपराध गर्ने एवं अवैध तरिकाले लाभ उठाउन खोज्ने प्रयास कसैले गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने उनको भनाइ छ । चाडपर्वका बेला हुनसक्ने अपराधिक घटना नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न परिचालित प्रहरीको नेतृत्व एसपी पाण्डेले आफैँले गरेका छन् । उनले कुनै पनि शंकास्पद गतिविधी कोहीकसैले गरेको पाइएमा तत्काल प्रहरीलाई जानकारी पनि आग्रह गरेका छन् ।
सार्वजनिक स्थल र पसलहरूमा २४ घण्टा नै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ । त्यस्तै होटल, मदिरा पसल एवं सार्वजनिक सवारी साधन चेकजाँचलाई प्रहरीले तीव्र पारेको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सादा पोसाक र हतियारसहितका प्रहरीको विशेष टोली परिचालन गरिएको छ । कोरोनाका कारण यस वर्ष खासै भिडभाड नहुने भए पनि धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत विगतमा भक्तजनहरूको भिडभाड एवं घुइँचो हुने स्थानमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरी सक्रिय बनेको छ ।
प्रहरी उपरीक्षक पाण्डेका अनुसार मापसेबाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण लगायतमा प्रहरीले बढी जोड दिएको छ । चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण प्रहरीको प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।
त्यस्तै जुवा, तासलगायत गैरकानुनी खेलहरू र शान्ति भड्काउने समूहलाई पूर्णरूपमा नियन्त्रणमा लिइने नीति प्रहरीले बनाएको छ । एसपी पाण्डेका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, राजमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिने प्रहरीको योजना छ ।
पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरूको पहिचान र नियन्त्रण थालिएको छ । सवारी साधनमाथि आकस्मिक चेकजाँच सुरु गरिएको छ । प्रहरीले मापसे गरेर सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाउँदै दुर्घटनामा कमी ल्याउन विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा लुकिछिपी हुने चोरी तस्करी नियन्त्रण गर्न प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरेको छ । सीमा क्षेत्रमा भइरहेका मानवीय चहलपहल नियन्त्रण एवं रोकथाम गरेर तस्करीलाई शून्यमा झार्ने योजनाका साथ अप्रेशन चलाइएको एसपी पाण्डेको भनाइ छ ।
यसैबीच प्रदेश–२ प्रहरी प्रमुख प्रहरी नायव ( डिआइजी) उमेश रञ्जितकारले पनि चाडपर्वका समयमा प्रदेशको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने बताएका छन् । उनले चाडपर्वलाई लक्षित गर्दै प्रदेशका आठ वटै जिल्लाको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको जानकारी दिए ।
प्रतिक्रिया