पर्वत । जिल्लाको जलजला गाउँपालिकाले मोबाइल एप्समार्फत नै घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेको छ । कुनै विनाझन्झट सहज रूपमा घरमै बसेर सेवाग्राहीले मोबाइल एप्समार्फत यो सेवा लिन पाउने भएका छन् । गाउँमा बसोवास गर्ने अधिकांश नागरिक कृषिमा निर्भर रहेको र गाउँपालिका धाइँरहदा विभिन्न बाधा र झमेला हुने भएका कारण समयको वचतसँगै आफ्नो समयमा तिर्न सक्ने व्यवस्थाको प्रबन्ध गरेको गाउँपालिकाले जनाएको छ । थोरै कर तिर्न पनि धेरै खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न ‘आइएमई पे’ मार्फत कर तिर्न सकिने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
गाउँपालिकभित्र धेरै ठाउँमा सडक गए पनि सहज रूपमा यातायात नजाने भएकाले एप्सबाट तिर्ने भएपछि घरमै बसेर थोरै मोबाइल डेटाबाट नै कर तिर्न सकिने अवस्था भएको छ । गाउँपालिकाको कार्यालयका सूचना तथा प्रविधि अधिकृत अनिल खत्रीले गाउँपालिकामा रहेका ७ हजार ८ सय करदाताले यो एप्समार्फत सजिलै कर बुझाउन सक्ने बताए । मोबाइल सेटमा आइएमई पेको एप्स डाउनलोड गरेपछि त्यसभित्र जलजला गाउँपालिकाको ‘सब टाइटल’मा गएर आफूले तिर्नुपर्ने रकम सिधै गाउँपालिकाको खातामा जम्मा गर्न सकिने उनले जानकारी दिए । एप्स सञ्चालनमा आएको केही दिन मात्र भएकाले अहिले १५/२० जना करदाताले मात्रै रकम जम्मा गरेको उनले बताए ।
सम्पत्ति तथा भूमि कर व्यवस्थापन गर्ने भनेर गाउँपालिकाले लगानी गरेर सफ्टवेयर बनाएको खत्रीले बताए । करदातालाई पर्सनल युजरनेम र पासवर्ड राखेर वितरण गरेको उनले बताए । एप्सको पहुँचमा जान नसक्ने तथा यससम्बन्धी ज्ञान नभएकाहरूले भने पुरानै शैलीमा गाउँपालिकाको कार्यालय वा तोकिएको वडाको केन्द्रमा पुगेर कर तिर्नुपर्नेछ । अधिकांश नागरिकलाई विभिन्न विधि प्रयोग गरेर यो सेवाको बारेमा सिकाएको पनि खत्रीको भनाइ छ । यो सुबिधा घरबाट नै लिन पाएपछि जलजला गाउँपालिकावासी खुसी भएका छन् ।
प्रतिक्रिया