विराटनगर । मोरङ जिल्लाका बाढी तथा पहिरोपीडितहरूलाई नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले राहत सामग्री वितरण गरेको छ । गतहप्ता आएको बाढी र पहिरोका कारण पूर्ण र आंशिक क्षति भएका दुई सयभन्दा बढी परिवारलाई शाखाले राहत वितरण गरेको हो । विराटनगर महानगरपालिकासहित रतुवामाई, उर्लावारी तथा सुनवर्सी नगरपालिका साथै मिक्लाजुङ र बुढिगंगा गाउँपालिकाका बाढीपीडितहरूलाई राहत वितरण गरिएको शाखाका सभापति सुवोधकुमार सिंहले बताए ।
पूर्ण क्षति भएका प्रत्येक परिवारलाई एकथान त्रिपाल, दुई थान कम्बल, एकसेट भाँडाकुँडा, तीन मिटर सुटिङ कपडा, चार मिटर सटिङ कपडा, दुई मिटर पपलिङ कपडा तथा सात मिटर प्रिन्टेड कपडा र पुरुष धोती तथा साडी तथा डोरी लगायतका राहत समग्री वितरण गरिएको छ ।
त्यसैगरी आंशिक क्षति भएका परिवारलाई एक थान त्रिपाल, एक थान मेट्रेस, एक थान झुल, एक थान हाइजिन किट तथा १० मिटर डोरी वितरण गरिएको छ । मिक्लाजुङ गाउँपालिकाका पहिरोपीडित ६ परिवार, उर्लावारी नगरपालिकाका पूर्ण र आंशिक क्षति गरी ६१ परिवार, बुढीगंगा गाउँपालिकाका २१ प्रिवार, रतुवामाई नगरपालिकाका ४४ परिवार, सुनवर्सी नगरपालिकाका ३६ परिवार तथा विराटनगर महानगरपालिकाका ६० परिवारलाई शाखाले राहत वितरण गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार करिब साढे १४ लाख बराबरको राहत सामग्री वितरण गरिएको सभापति सिंहले बताए । स्थानीय पालिका, रेडक्रस, नेपाल प्रहरी तथा स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रको अनुगमन तथा सर्वेक्षण गरेर पीडित परिवारको नाम संकलन गरेर राहत वितरण गरेको हो । रेडक्रस मोरङ शाखा अध्यक्ष सुवोधकुमार सिंह तथा साखाका महामन्त्री शुकदेव मण्डलले पीडितहरूलाई राहत सामग्री वितरण गरेका हुन् । पहिलो चरणमा रेडक्रसवाट पाएको सहयोगले केही भए पनि आपूmहरूलाई राहत भएको पीडितहरूको भनाइ छ ।
प्रतिक्रिया