मौलिक संस्कृति जर्गेना गर्न जोड

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले मौलिक संस्कृतिको जगेर्ना र प्रबद्र्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे ।

उनले भने, ‘मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ । हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहँला ?’ उनले भूगोलले मात्रै पहिचान दिन नसक्ने बताए । उनले भने, ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन । मेरो आग्रह छ, हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ । प्रबद्र्धन गरौँ र, भावी पुस्तालाई हस्तान्तरण गरौँ ।’

लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, संवद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले राज्य उक्त दायित्वबाट पछि हट्न नमिल्ने बताए । उपराष्ट्रपति पुनले भने, ‘यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ ।’

उनले लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘योसँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेछ । यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ । विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ ।’

उपराष्ट्रपति पुनले लोकवार्तासँग सम्बन्धित क्षेत्रको अनुसन्धान, अध्ययन र संरक्षण तथा सम्बद्र्धनका लागि लोकवार्ता परिषद्ले गरिरहेको काम र नेपाल प्रज्ञा–प्रतिष्ठानले गरिरहेको सहयोगको प्रशंसा गरे । उनले यस संस्थाले नेपालको लोकवार्ताको अनुसन्धान, संरक्षण र प्रवद्र्धनका लागि सहयोग गरेको बताए । कार्यक्रममा नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया