डाँडापारिमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत

काभ्रे । जिल्लाका अति विकट तथा भौगोलिक रूपमा पिछडिएको डाँडापारिमा प्राविधिक रूपमा हुने धेरै कामलाई दुई गाउँपालिकाहरू खानीखोला र माहाभारत गाउँपालिकामा डिजिटलाइजद्वारा गरिँदै आएको छ । यसैबीच खानीखोला गाउँपालिकाले भने सामाजिक सुरक्षा भत्ताहरू अब उनीहरूको खातामा नै पठाएको छ । गाउँपालिकाले ताल्ढुंगामा रहेको नेपाल एसबीआई बैंकमार्फत लाभान्वित वर्गहरूको भत्ता बैंक खातामार्फत वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले बताए । ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्णअपांगता, अति अशक्त अपागंता, लोपोन्मुख आदिवासी जनजाति र बालबालिका गरि आठ वर्गका लक्षित बर्गहरूको सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत खातामा लाभकर्ताको नाममा जाने र उनीहरूले सो बैंकको जुनै पनि शाखामार्फत आफूलाई आवश्यकता परेको बेला लिन सक्ने बताए ।

खानीखोला गाउँपालिकामा रहेको सात वटा वडाहरूमा ५ सय ८ जना ज्येष्ठ नागरिकले ६० लाख ८१ हजार ३ सय ३५, ज्येष्ठ नागरिक दलित ११ जनाले ८७ हजार ७ सय ८०, ८५ जना ज्येष्ठ नागरिक एकल महिलाले ६ लाख ७० हजार ३ सय २०, १ सय ३२ जना विधवाले १० लाख २१ हजार ४ सय ४०, अपांग ‘क’ बर्गको ३४ जनाले ४ लाख २ हजार ९ सय ९०, ‘ख’ बर्गका ६८ जनाले ४ लाख २३ हजार ४ सय ७२ र १७ जना दलितले २६ हजार ६८ गरी ८ सय ५५ जनाले ८७ लाख १४ हजार ५ रुपैयाँ त्रैमासिक मात्रै लिने गर्दै आएका छन् । गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले अबको किस्ताबाटै सो भत्ता उनीहरूले बैंकमार्पmत लिनुपर्ने बताए । यता कतै पनि हिँड्डुल गर्न नसक्ने र ९० वर्ष उमेर कटेका वृद्धवृद्धाहरूका लागि भने गाउँपालिका र बैंकको समन्वयमा उनीहरूको घरघरमा नै वार्षिक वा चैमासिक भत्ता उपलब्ध गराइने सहमति भएको गाउँपालिकामा कार्यरत नायब सुब्बा रामकृष्ण अर्यालले बताए ।

बैंकको पहुँच पुगेका स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट मात्र वितरण गर्नुपर्ने प्रावधान भए पनि काभ्रेको केही पालिकाले मात्रै त्यो लागू गरेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय यसअघि नै गरेको थियो । अब स्थानीयतहले सबै लाभग्राहीको खाता खोली सोही खातामा सामाजिक सुरक्षा कार्यक्रमबाट पाउने रकम जम्मा गर्नुपर्ने हुन्छ ।

सरकारले ०७३ सालबाटै भत्ता वितरणमा बैंकिङ प्रणाली सुरु गरेको थियो । तर, सबै स्थानमा बैंकको पहुँच नपुगेका कारण यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । स्थानीय सरकार गठन भएपछि भने सरकारले सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने लक्ष्य लिएको छ । सोहीअनुसार अब सामाजिक सुरक्षा भत्तासमेत बैंकबाटै व्यक्तिको खातामा पठाउने निर्णयलाई आफ्नो गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्दै गरेको र आउने चौमासिकबाट माहाभारत गाउँपालिकामा पनि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंकको शाखा बिस्तार गर्न बैंकहरूलाई ०७४ असार भित्रको समयसीमा दिएको थियो तर हालसम्म पनि त्यो लक्ष्य अपूरै छ ।

९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण अपांगता भएका नागरिक, अतिअशक्तता प्रमाणित भएका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने र बालबालिकालाई भने गाउँपालिकाले घरमै सेवा दिनेछ । तर, भौगौलिक विकटताका र अन्य कारणले तत्काल घरमा सेवा दिन नसकिने अवस्थामा भने लाभग्राही र उनका संरक्षकको संयुक्त हस्ताक्षरबाट खाता खोल्नुपर्नेछ । संयुक्त हस्ताक्षरसमेत सम्भव नभएमा भने संरक्षकको हस्ताक्षरबाट समेत चलाउन सकिने खाता खोली सोही खातामा रकम राखिदिने व्यवस्था मिलाइएको खानीखोला गाउँपालिकाका अध्यक्ष खुललाले बताए । यसरी बैंक प्रणालीमार्फत भत्ता बितरण हुने भएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । उनीहरू भन्छन्, ‘भत्ता दुरुपयोग हुने र सम्बन्धित लाभग्राहीको हातमा नपुग्ने र मृतक व्यक्तिको नामबाट हुने दुरुपयोगको रकम अब पूर्ण रूपमा रोकिने भएको छ ।’

प्रतिक्रिया