काठमाडौं । अग्रज पौभा कलाकार उदयचरण श्रेष्ठको एकल प्रदर्शनी सुरु भएको छ । ठमेलस्थित मोना (म्युजियम अफ नेपाली आर्ट) मा शनिबारदेखि सुरु भएको प्रदर्शनीको उद्घाटन व्यवसायी विश्वास ढकालले गरे । एक महिनासम्म चल्ने उक्त प्रदर्शनीमा बंगलामुखी, शक्ति, महालक्ष्मी, कौमारी र छन्द भैरव र संहार ताण्डव शीर्षकका चित्र राखिएको छ । पञ्च तत्वमध्येको एक ‘अग्नि’ लाई परिभाषित गर्ने यी चित्रलाई क्युरेटर उर्गेन नोर्बुले निकै आकर्षक बनाएका छन् । नोर्बुले ‘अग्नि’ तत्वमा रहेर कलालाई सुहाउँदो पृष्ठभूमि र वातावरण तयार गरेको बताए । उनकै अवधारणामा यसअघि पनि अग्रज कलाकार लोक चित्रकारको ‘जल’ तत्वमा आधारित रहेर कला प्रदर्शनी गरिएको थियो । नोर्बुले यसपछि कलाकार स्व. प्रेममान चित्रकारको ‘वायु’ र युवा कलाकार समुन्द्रमान सिंह श्रेष्ठको ‘पृथ्वी’ तत्वमा केन्द्रित रहेर कला प्रदर्शनी गर्ने लागिएको जानकारी दिए ।
नवीन सोचका साथ परम्परागत पौभा कला सिर्जना गर्दै आएका उदयचरणले यस प्रदर्शनीमा अग्नि विषयसँग सम्बन्धित कलाकृति राखेका छन् । विविध माध्यम र शिल्प क्षमता प्रस्तुत गर्दै पौभामा नयाँपन ल्याएका उनले कुनै चित्रमा लिपिको संयोजनलाई निकै कलात्मक रुपमा उधिनेको पाइन्छ । कुनैमा तेलरङमा पेन्सिल रङको मिश्रणले चित्रलाई अझ गतिशील बनाएका छन् । यस्तै, पोस्टर, तेलरङ, एक्रेलिक रङमा बनाइएका चित्रमा परम्परागत तथा हेर्दा समृद्ध नेपाली कलाको रस्वादन जोकोहीले गर्न सक्दछ ।
चार महिना लामो प्रदर्शनीमा एक महिनाका लागि एक जना कलाकार छुट्टाइएको म्युजियमले जनाएको छ । यसैअन्तर्गत यस पटक एक महिनाका लागि कलाकार श्रेष्ठका कला प्रदर्शनीमा राखिएको हो । मोनाका संस्थापक राजन शाक्यले नेपाली कला विश्वका कुनाकाप्चामा पुगिरहे पनि नेपालीले देख्न नपाउने अवस्था नआओस् भनेर म्युजियम खोलेको बताए । उनले भने, ‘कलाकारको सिर्जना बिक्रीपछि नेपालीले देख्न पाउने सम्भावना न्युन हुन्छ । त्यसकारण पहिला नेपालमा प्रदर्शनी गरेर मात्र अन्यत्र जाँदा नेपाली दर्शकले नेपाली कलाको महत्व बुझ्न सक्ने भएकाले यस प्रकारको प्रदर्शनीको आयोजना गरिएको हो ।’
उनका अनुसार नेपाली आधुनिक, परम्परागत कलाको संरक्षण, प्रवद्र्धन तथा जर्गेना गर्नका लागि काठमाडौं गेस्ट हाउसकै हातामा म्युजियम खोलिएको हो । शाक्यले आममानिस, राजनीतिज्ञ, व्यवसायी हरेक क्षेत्रले पनि नेपाली कलाको जर्गेना गर्न योगदान दिनुपर्नेमा जोड दिए । प्रदर्शनीका निर्देशक उर्गेन नोर्बुले अहिले कोरोना महामारीबीच सबैतिर नकारात्मक भावना बढिरहेको बेला मानिस एकलकाटे भएका बताउँदै यस्तो अवस्थामा हाम्रा मौलिक कलाले दर्शकलाई थोरै भए पनि राहत दिन सक्छ भनेर प्रदर्शनी गरिएको सुनाए । उनले भने, ‘सकारात्मक ऊर्जा बढाउन मद्दत गर्ने उद्देश्यले पञ्चतत्व शीर्षकमा प्रदर्शनीको आयोजना गरिएको हो ।’
कलाकार उदयचरणले प्रदर्शनीले आफूमा उत्साह भरेको बताए । कलाकार राजप्रकाश तुलाधरले उदयचरणका पौभाले नेपाली परम्परागत धारमा नयाँपन ल्याएको बताए । उनले भने, ‘प्रदर्शनीमा राखिएका पौभाकलामा देखिने शैलीगत नवीनता र त्यसको प्रस्तुतिकरण नै कलाकारको विशिष्ट परिचय हो ।’
नेपाली परम्परागत चित्रकलाको धारमा नयाँ शिल्प र सोचलाई भित्र्याउने उदयचरणबाट आफूले प्रेरणा पाएको कलाकार समुन्द्रमान श्रेष्ठले बताए । उनले भने, ‘नेपाली पौभाकलामा नयाँ शैलीमा काम गर्ने पहिलो कलाकार उदयचरण हुनुहुन्छ । उहाँका कामले नयाँपुस्ताका कलाकारलाई समेत यसक्षेत्रमा अगाडि बढ्न अभिप्रेरित गरेको पाइन्छ ।’ परम्परागत चित्रकलामा नवीन सोच र विषयमा काम गर्न रुचाउने कलाकारको रुपमा उदयचरणलाई नेपालमा चिनिने पौभा कलाकार उजय बज्राचार्यले बताए । उनले भने, ‘पौभाकलामा वस्तुपरक प्रभाव दिन सक्ने विशिष्ट क्षमता अग्रज कलाकार उदयचरणमा छ । उहाँले भित्र्याउनु भएको शैली र संरचना विशिष्ट र गर्व गर्नलायक छ ।’
प्रतिक्रिया