नुवाकोटमा ‘यो मेरो दिल’

नुवाकोट । शंकर अधिकारी घायलको निर्देशन रहेको चलचित्र ‘यो मेरो दिल’ को छायांकन सुरु गरिएको छ । आइतबारदेखि सुरु भएको चलचित्रको छायांकन नुवाकोटका विभिन्न रमणीय स्थलमा भइरहेको छ । निर्देशक घायलका अनुसार चलचित्रले प्रेममा आउने विभिन्न आरोह अवरोहलाई प्रस्तुत गरेको बताए ।

उनले समाजमा रहेका विभिन्न विकृति, विसंगति तथा कुरीतिलाई समेत देखाउने सुनाए । चलचित्रमा विवन तामाङ, प्रवेश लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेनु थापा, सूर्य तामाङ, दसबहादुर तामाङ, पदम सुनार लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

दिवस गुरुङको छायांकन रहेको यस चलचित्रमा राजन महर्जनको नृत्य रहने छ । निर्माण पक्षका अनुसार चलचित्र प्रदर्शन आउँदो तिहारसम्म गर्ने गरी काम भइरहेको छ । निर्देशक घायलले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समूहमा चलचित्र छायांकन गर्न निस्किएको बताए । पछिल्लो समय कोरोना संक्रमणलाई सरकारले खुकुल्लो पारेसँगै चलचित्र छायांकन ह्वात्तै बढेको छ ।

प्रतिक्रिया