निमाको पागल प्रेमी २

काठमाडौं । गायक निमा रुम्बाले ‘पागल प्रेमी’ पछि ‘पागल प्रेमी २’ गाएका छन् । गीतमा गायक निमाकै शब्द तथा संगीत रहेको छ । उनले पागल प्रेमी २०५० सालमा ल्याएका थिए । पागल प्रेमी २ को रुपमा ल्याएको क्रेजी लभर बोलको गीत केही वर्षअघि नै रेकर्ड गरिएको थियो । उक्त गीतका लागि गायक निमा र गायक स्व. सुनिल बर्देवाको जोडीले २०७० सालमा एरेन्ज सुरु गरेका थिए भने उक्त गीत तयार गर्न करिब दुई वर्ष लागेको थियो । यस गीतको भिडियोको निर्देशन लामो समयदेखि अमेरिका बसोबास गरिरहेका आशिष श्रेष्ठले गरेका छन् । भिडियोमा पटकथा र सम्पादनसमेत उनकै छ । गीतको भिडियो अमेरिकामा क्रियाशील युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको हो ।

गायक निमाले गीतको भिडियो पहिलोपटक विदेशी भूमिमा, त्यो पनि हलिउड स्तरमा तयार भएकोमा खुसी व्यक्त गरे । निर्देशक आशिषका अनुसार अमेरिकाको टेक्सासस्थित डेलासका विभिन्न रमणीय स्थानमा तीन दिन लगाएर भिडियोको छायांकन गरिएको हो । भिडियोमा निमाकै प्रमुख भूमिका रहेको छ । यस्तै, मिस्टर युएसए तथा दुई पटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रोकार्ड विजेता उत्सव सिंहको अभिनय छ । उत्सव यो उपाधि जित्ने पहिलो नेपाली हुन् । त्यसैगरी मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्माको समेत भिडियोमा अभिनय रहेको छ । अशिंकाले यही वर्ष फ्लोरिडामा सम्पन्न मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । भिडियोको सहनिर्माता आहा प्रोडक्सनका उज्वल सिंह रहेका छन् । निर्देशक श्रेष्ठका अनुसार भिडियो आगामी सेप्टेम्बर २३ मा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया