शान्ति प्रक्रियाको जिम्मेवारी बिशेष समितिलाई

काठमाडौं, २८ फागुन । प्रमुख तीन दलले शान्ति प्रक्रियामा टुङगो लगाउन बाँकी रहेका बिषयमा निकास खोज्ने जिम्मेवारी माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी बिशेष समितिलाई दिएका छन् ।
एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको आज सिंहदरबारमा बसेको बैठकले शान्ति प्रक्रियाका काम गर्न बाँकी रहेका एजेण्डामा छलफल गर्ने जिम्मेवारी बिशेष समितिलाई दिएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै खनालले भने, ‘पर्सी बस्ने बिशेष समितिले शान्ति प्रक्रियाका बिषयमा ठोस निर्णय गर्ने छ ।’
शान्ति प्रक्रियाका बिषयमा छलफल गर्न पर्सी मंगलबार बिशेष समितिको बैठक बस्ने भएको छ । शान्ति प्रक्रियाको काम अघि नबढ्दासम्म संविधान निर्माणका बिवादित बिषयमा सहमति हुन नसक्ने भन्दै कांग्रेस र एमालेले एमाओवादीलाई दबाव दिएका थिए ।
शीर्ष बैठक वेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने बिषयमा सहमतिको नजिक पुगेको छ । आयोगहरु छिट्टै गठन गरिने खनालले बताए ।
संविधानका बिवादित बिषयमा भने भोली सोमवार बस्ने बिवाद समाधान उपसमितिको बैठकमा छलफल हुने छ । शीर्ष बैठकले उपसमितिमा संविधानका बिवादित बिषयमा छलफल गर्ने सहमति गरेको हो । राज्य पुनसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली लगायतमा दलहरुका बीच बिवाद रहेका छन् ।
बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरुको सहभागिता रहको थियो ।

प्रतिक्रिया