पुस्तकमा उत्तम

काठमाडौं । कलाकार उत्तम नेपालीको ४५औं तिथिमा श्रद्धाञ्जलस् सभा तथा उनको कला र जीवनसँग समर्पित पुस्तक विमोचन गरिएको छ । कला समीक्षक मुकेश मल्लले लेखेको ‘उत्तम नेपालीः नेपाली आधुनिक कलाको बलियो स्तम्भ’ पुस्तकको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का पूर्वकुलपति किरण मानन्धरले विमोचन गरे । मानन्धरले कलाकार नेपालीले कला क्षेत्रमा गरेको योगदानको चर्चा गरे । उनले नेपाली कला क्षेत्रका लागि अतुलनीय रहेको बताउँदै उत्तमका कला र योगदानको महत्वलाई चीरस्थायी बनाउन सबैले प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले नेपाली कला जगतमा उत्तम नेपालीले विशिष्ट योगदान दिएको बताइन् । उनले भारतको लखनउ कलेजमा पढ्दादेखि नै कलाकार नेपाली आफ्नो प्रेरणाको स्रोत भएको सुनाइन् । रागिनीले भनिन्, ‘नेपालमा लखनउको वास टेक्निकमा काम गर्ने सायद उहाँ जत्तिको सिद्धहस्त व्यक्तित्व अरु छैनन् । उहाँका सुरुका कलाकृति पनि त्यही टेक्निकबाट बनाइएको पाइन्छ ।’ ललितकला क्याम्पसका पूर्वप्रमुख तथा अग्रज कलाकार कृष्ण मानन्धरले नेपाली कलाको विकासमा उत्तम नेपालीले अतुलनीय योगदान दिएको बताए । उनले भने, ‘उत्तम नेपालीको कला र यस क्षेत्रको विकास, प्रवद्र्धन र संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका रहेको छ ।’

यस्तै, अग्रज कलाकार विजय थापाले उत्तमको कलाकारिता, सामाजिक व्यक्तित्व र संस्थागत विकासका निमित गरेको योगदानका बारेमा चर्चा गरे । उनले उत्तम नेपालकै एक विशिष्ट प्रतिभा भएको सुनाउँदै उनको व्यक्तित्व र कृतित्वको चर्चा र संरक्षण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कलाकार नेपालीप्रति श्रद्वाञ्जली व्यक्त गर्दै आधुनिक कलाका जुझारू, साहसिक योद्धाका रूपमा उनलाई सम्झिने बताए । उनले भने, ‘कलाका निम्ति अडान लिन सक्ने व्यक्तित्वका रुप उत्तमदाई नेपाली कला क्षेत्रमा परिचित हुनुहुन्थ्यो । उहाँको कलाप्रतिको समर्पण निकै प्रेरणादायिक र उत्साह भर्ने खालको रहेको थियो ।’

त्यसैगरी समीक्षक मल्लले उत्तम नेपालीको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्दै पुस्तकमा कलायात्रा, संघर्ष, कलाकृति र योगदानलाई उठान गरिएको बताए । प्रतिष्ठानका सदस्यसचिव विपिन घिमिरेले कलाकार नेपालीको योगदानको नेपाली कला क्षेत्रले सधैं स्मरण गरिरहने विचार व्यक्त गरे । प्राज्ञ रमेश खनालले नेपाली कला, साहित्य, संगीत तथा चलचित्र क्षेत्रमा समेत उत्तिकै परिचित व्यक्तित्व रहेको बताए ।

प्रतिक्रिया