‘म त मर्छु कि क्या हो’ को ट्रेलर

काठमाडौं । हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक गरिएको छ । धुर्मुस सुन्तलीकै लेखन तथा निर्देशन रहेको यस चलचित्रमा वैवाहिक जीवनको उत्तारचढावलाई देखाइएको छ । सार्वजनिक टे्रलरमा उनीहरु टेलिसिरियल ‘मेरी बाँस्सै’ को धुर्मुस-सुन्तलीकै गेटअपमा देखिएका छन् ।

सीताराम र कुञ्जनालाई धुर्मुस-सुन्तली रुपमै प्रस्तुत गरिएको यस चलचित्रमा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय छ । मिलन श्रेष्ठको सम्पादन गरेको यस चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।

११ भदौमा ‘ओ हो मूभि’ प्लेटफर्मबाट सार्वजनिक प्रदर्शनीमा आउने तयारीमा रहेको यस चलचित्रमा विवाह र त्यसपछि आउने आरोह अवरोहलाई केलाइएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रबाट संकलित रकमलाई भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा च्यारिटी गरिने धुर्मुस सुन्तलीले जनाए । सीताराम र कुञ्जना पछिल्लो समय अभिनयभन्दा बढी सामाजिक कार्यमा सक्रिय छन् । अहिले उनीहरुले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । यसअघि उनीहरुले ‘सेन्टीभाइरस’ निर्माण गरेका थिए ।

प्रतिक्रिया