मन्त्रालयद्वारा शिक्षा अध्यादेशको बचाउ

काठमाडौं, ८ असोज । शिक्षा मन्त्रालयले शिक्षा ऐन आठौं संशोधनको बचाउ गर्दै सहयोग गर्न आग्रह गरेको छ ।
यद्यपी शिक्षक र सरोकारवालाहरुले अध्यादेशले आफूहरुसँग विगतमा गरिएका सहमति उलंघन भएको भन्दै विरोध गरेका छन् । अध्यादेश जारी भए पुनः आन्दोलन गर्ने चेतावनी समेत शिक्षकहरुले दिए ।
काठमाडौंमा आज आयोजित अन्तक्र्रियामा शिक्षा मन्त्रालयका सह–प्रवक्ता डा.रोजनाथ पाण्डेले शिक्षा ऐन संशोधन नभएका कारण मन्त्रालयले लागू गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताए ।
उनले शिक्षक तथा विद्यार्थी संगठनहरुसँग विगतमा भएका अधिकांश सम्झौताहरुलाई अध्यादेशमा समावेश गरिएको दावी गरे ।
उनले भने, ‘गुणस्तरीय शिक्षा राष्ट्रिय साक्षरता अभियान उच्च मावि खारेज गर्दै राष्ट्रिय परीक्षा बोर्ड गठन पाठ्यक्रममा परिमार्जन, विद्यालयको संरचना परिमार्जनलगायतका विषयहरु शिक्षा अध्यादेशमा छन् ।’
प्रवक्ता पाण्डेले तत्कालका लागि शिक्षा अध्यादेशको विरोध गर्नु भन्दा त्यसलाई सहमतिका आधारमा पारित गराउन शिक्षकहरुले सहयोग गर्नु पर्ने बताए ।
नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले विगतमा शिक्षा मन्त्रालय र पेशागत संस्थाहरुबीच भएको सहमति शिक्षा अध्यादेशमा उल्लेख नभएकाले विरोध गर्नु परेको बताए ।
उनले भने, ‘सरकारले सिफारिस गरेको अध्यादेशमा शिक्षक संगठनहरुसँग भएका सहमति नसमेटिएकाले बिरोध गरेका हौं ।’ सो विषयमा शिक्षकहरुले भदौ–११ गते राष्ट्रपति डा.रामबरण यादव समक्ष ध्यानाकर्षण गराई सकेका छन् ।
उनले शिक्षकका माग पुरा नभए सबै शिक्षक संगठनहरु मिलेर संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया