आइजिपी रानाले कार्यभार सम्हाले

काठमाडौं, ३०  भदौ । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) कुवेरसिंह रानाले जिम्मेवारी सम्हालेका छन् । गृह मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा गृहसचिव नवीनकुमार घिमिरेले आइजिपी पदको दज्र्यानी चिह्न प्रदान गरेलगत्तै रानाले कार्यभार सम्हालेका हुन् ।
रानाले नक्सालस्थित प्रहरी मुख्यालय पुगेर पदभार ग्रहण गरेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री  डा. बाबुराम भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदारबीचको एक महिना लामो विवादपछि सरकारले बिहीबार रानालाई आइजिपी नियुक्त गरेको थियो । गृहमन्त्री गच्छदारले तेस्रो वरीयताका प्रहरी अधिकृतलाई नयाँ आइजिपी बनाउने अडान लिँदा पटक–पटक मन्त्रिपरिषद् बैठक बसे पनि निर्णय हुन सकेको थिएन । तत्कालीन आइजिपी रवीन्द्रप्रताप शाहको सेवा अवधि २९ भदौमा सकिने भएपछि विवादका बीच मन्त्रिपरिषद् बैठकले बिहीबार रानालाई आइजिपी बनाउने निर्णय गरेको हो ।
आइजिपी रानाले पदभार सम्हालेलगत्तै प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवानलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिए । मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको मान्यताबाट निर्देशित रही अन्तरिम संविधान, प्रचलित कानुन र सरकारको नीति–निर्देशनबमोजिम देशभर शान्ति र अमनचयन कायम राख्न कटिबद्ध रहन उनले निर्देशन दिए । मुलुक संक्रमणकालीन अवस्थामा रहे पनि प्रहरीले कानुन कार्यान्वयन गर्ने र शान्ति–सुरक्षा कायम राख्ने विषयलाई संक्रमणकालको परिधिबाट अलग्गै राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
३० कात्तिक ०४० मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका राना ९ असार ०६८ मा एआइजीमा बढुवा भएका थिए ।

प्रतिक्रिया