हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण


हेटौँडा । हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मंगलबार अस्पताल र उद्योग संघ हेटौँडाबीच सम्झौता भएको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही १६ जेठभित्र निर्माण सुरु हुनेगरी सम्झौता भएको हो । सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरे ।

प्लान्ट निर्माण १ करोड ३० लाखमा सम्पन्न हुने अनुमान संघले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग संघले गर्ने र आर्थिक जोहो संघसँग आबद्ध उद्योगीहरूले गर्ने संघले जानकारी दिएको छ । १६ जेठसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०÷३० दिनभित्र प्लान्ट जडान भइसक्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिए । प्लान्टले दैनिक दुई सय सिलिन्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए ।

यसैबीच मकवानपुरमा कोभिड–१९ संक्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक सय सिलिण्डर अक्सिजन ल्याउने अभियान सुरु गरेको छ ।कोरो ना संक्रमणको दर बढिरहेकाले हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पु¥याउने उद्देश्यले सो अभियान चालिएको उपमहानगरपालिकाले जनाएको छ । प्रत्येक दिन उपमहानगरपालिकाको आर्थिक लगानीमा सय सिलिन्डर अक्सिजन भरेर अस्पतालमा उपलब्ध गराइनेछ । पछिल्लो समय उपमहानगरपालिकामा अक्सिजन चाहिने संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले पहलकदमी बढाएको हो ।

प्रतिक्रिया