‘पाकिस्तान चीनसँग झन् नजिकिँदै’

बेइजिङ : पाकिस्तानी प्रधानमन्त्री रजा परवेज असरफले पाकिस्तान र चीनबीचको सम्बन्ध थप झ्यागिँदै गएको बताएका छन् । यद्यपि, दुई देशबीचको निकटता कुनै तेस्रो देशप्रति लक्षित नरहेको उनले प्रस्ट पारेका छन् । चीनमा जारी ‘वल्र्ड इकोनोमिक फोरम’को कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री असरफले बुधबार यस्तो धारणा राखेका हुन् । पाकिस्तान र चीनबीचको सम्बन्धलाई ‘समयले खारेको’ र इतिहासलगायत विविध क्षेत्रमा दुई देशबीचको सम्बन्ध घनीभूत रहेको उनले बताए ।
क्षेत्रीय सम्पन्नताका लागि चीनको भूमिका महत्त्वपूर्ण हुने प्रस्ट पार्दै उनले चीनले हासिल गरेको अनुभव पाकिस्तानका लागि पाठ बन्नसक्ने उल्लेख गरे । दुई देशबीचको सम्बन्ध अद्भुत रहेको जनाउँदै उनले भने, ‘पाकिस्तानमा जोसुकैलाई चीनबारे सोध्नुस्, उसले तत्कालै चीनसँगको सम्बन्ध हिमालभन्दा अग्लो र सागरभन्दा गहिरो रहेको आशयको धारणा राख्नेछ । र यो  धारणा पूर्णत: सत्य छ ।’ आतंकवादविरुद्धको युद्धमा अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न पाकिस्तान तयार रहेको उल्लेख गर्दै उनले जारी आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले ठूलो क्षति बेहोरेको उल्लेख गरे । यद्यपि, कुनै बहानामा पनि मुलुकको एकता र सार्वभौमिकतामाथि सम्झौता नगरिने उनले प्रस्ट पारे ।
दक्षिण, पश्चिम र मध्यएसियाको केन्द्रमा रहेका आफ्नो मुलुक क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्ध रहन आतुर रहेको उनले बताए । भारत, अफगानिस्तान, इरान, चीन र अन्य मध्य एसियाली राष्ट्रपति पाकिस्तानले मैत्रिपूर्ण सम्बन्ध चाहेको समेत उनले प्रस्ट पारे । उनले जम्मु र कास्मिरलगायत सबै विवादित मुद्दामा वार्ताबाट समाधान खोज्दै समस्याको शान्तिपूर्ण समाधान गर्न पाकिस्तानले इमानदार प्रयास गरिरहेको जानकारी गराए । (एजेन्सी)

प्रतिक्रिया