रौतहट अस्पतालमा भ्रष्टाचार

रौतहट, २९ भदौ । जिल्ला अस्पताल गौरमा कर्मचारी प्रशासनबाट अनियमितता भएको रहस्य खुलासा भएको छ ।
विभिन्न शीर्षकमा आएको रकम अस्पताल प्रशासनको मिलेमतोमा हिनामिना भएको हो । जिल्ला अस्पतालले ६ लाख थान रैनिटिडिन इन्जेक्सनका लागि आएको रकम औषधि नै नकिनेर भुक्तानी दिएको छ ।
त्यसैगरी शिशुको सालनाल राख्ने प्लासेन्टा पिटका लागि आएको रकम पनि कमसल सामग्री खरिद गरेर बढी रकम भुक्तानी दिइएको पाइएको छ । मदहम्दपुर, खेसरहिया हेल्थपोस्ट मर्मतका लागि आएको तीन लाख ४० हजार रुपियाँ पनि कर्मचारीकै मिलेमतोमा भ्रष्टाचार भएको छ भने औषधि नै खरिद नगरी नौ लाख रुपियाँ कार्यालय प्रमुख डा. अखिलेशप्रसाद सिंह, लेखापाल रामप्रकाश साह, स्टोरकिपर र अन्य कर्मचारीले भागवण्डा गरी बाँडेको कर्मचारीहरूले नै बताएका छन् ।
सरकारले नि:शुल्क उपलब्ध गराउने उद्देश्यले अस्पतालमा पठाएको एन्टिरेबिज भ्याक्सिनमा जिल्ला अस्पताल गौरले बिरामीबाट गैरकानुनी तरिकाले तीन सय रुपियाँ लिइरहेको छ । ‘राज्यले नि:शुल्क बाँड्न भ्याक्सिन उपलब्ध गराइरहेको छ । यसका लागि पैसा तिर्नुपर्दैन,’ मध्यमाञ्चल मेडिकल स्टोर हेटौंडाका स्टोरकिपर रमन झाले बताए । कुकुरले टोकेका बिरामीलाई दिनुपर्ने भ्याक्सिन अस्पताल विकास समितिको निर्णय भन्दै तीन सय रुपियाँका दरले बिरामीसँग असुल गरिएको हो ।
गैरकानुनीरूपमा अस्पतालले लिइरहेको भ्याक्सिनमा पनि कर्मचारीले अनियमितता गर्न भ्याएका छन् । रकम सिधै कर्मचारीको गोजीमा जाने गरेको केही कनिष्ठ कर्मचारीले बताए । २५ भदौमा तीन सय रुपियाँ तिरेको रसिद देखाएका रामकृपाल साहको रकम अस्पतालको आम्दानी खातामा कहीँ कतै जम्मा नहुनुले यो खुलासा भएको हो ।
‘रसिद काटेर पैसा लिएको हो तर आम्दानी खातामा चढाएको छैन,’ फाँटवाला रामआधार यादवले बताए, ‘अब सो पैसा आम्दानी खातामा हाल्छु ।’ रकम लिएर तीन दिनपछि अस्पतालको खातामा जम्मा नहुनुले कर्मचारीको नियत प्रष्ट देखिएको छ । गरिब जनताबाट गैरकानुनी तरिकाले अस्पताल विकास समितिले निर्णय गरेको भन्दै कर्मचारीको गोजी भर्ने काम भइरहँदा पनि अनुगमन भएको छैन ।

बढे भाइरलका बिरामी
रौतहट : भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला अस्पतालमा डाक्टरको अभावले बिरामीहरू थप समस्यामा परेका छन् । तीन डाक्टरको दरबन्दी रहेकोमा डाक्टर अखिलेशप्रसाद सिंह मात्र सेवामा छन् ।
‘दैनिक दस जना भाइरलका बिरामी आइरहेका छन्,’ डा. सिंहले भने, ‘प्रकोपजस्तो स्थिति नरहे पनि बिरामीको चाप बढेको छ ।’ बिरामीको चाप बढेपछि जिल्ला अस्पताल अहेवका भरमा चलिरहेको छ । देशका विभिन्न ठाउँमा भाइरलको प्रकोप बढिरहेको अवस्थामा रौतहटमा पनि बिरामी देखापर्नु चिन्ताको विषय हो । भाइरलको प्रकोप बढिरहेका बेलामा जिल्ला अस्पतालमा डाक्टरको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया