यश राजको निःशुल्क खोप

मुम्बई । दोस्रो लहरका रुपमा भारतमा फैलिएको कोरोना महामारीले सिनेमा र टेलिभिजन क्षेत्रका काममा नराम्रो प्रभाव पारेको छ । यसमा आबद्ध रहेका लाखौं कलाकार, प्राविधिक र मजदुर प्रभावित भएसँगै भारतकै अर्थतन्त्रमा समेत नराम्रो धक्का पुगेको छ । कोरोना कहरले मनोरञ्जन क्षेत्रका काम ठप्प भएपछि संकट निम्त्याएको छ । यस विषम परिस्थितिमा भारतीय चलचित्र निर्माण र वितरण कम्पनी यश राज फिल्म्सले फिल्म उद्योगमा दर्ता भएका ३० हजार सदस्यलाई कोरोनाविरुद्ध खोप लगाउने जिम्मेवारी लिने भएको छ । यस कम्पनीले यसको खर्चसमेत जुटाउने जनाएको छ ।

भारतीय सञ्चार माध्यम अनुसार यश राजले सिनेमा उद्योगमा दर्ता भएका ३० हजार कलाकार, प्राविधिक तथा मजदुरलाई खोप लगाउने खर्च व्यहोर्ने जनाएका छन् । कम्पनीका वरिष्ठ उपाध्यक्ष अक्षय विधानीले आफ्नो चिठीमा लेखेका छन्, ‘फिल्म उद्योग अभूतपूर्व संकटबाट गुज्रिरहेको छ । यसलाई चाँडोभन्दा चाँडो सुचारु गर्नु जरुरी छ ताकि हजारौं कामदारले आफ्नो जीविका सुरु गरी आफ्नो परिवारको सुरक्षा गर्न सक्नेछन् ।’ उनले यश चोपडा फाउण्डेसनमार्फत यश राज फिल्म्स यसका लागि सहयोग गर्न चाहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामीले महाराष्ट्रका माननीय मुख्यमन्त्रीलाई दर्ता भएका ३० हजार मजदुरलाई कोभिड–१९ विरुद्धको खोप खरिद गर्न अनुमति दिन अनुरोध गरेका छौं ।’

कोरोना संक्रमण फैलिएपछि महाराष्ट्रमा हाल दोस्रो चरणको लकडाउन लगाइएको छ । फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइजलाई दिइएको एक पत्रानुसार यशराज फिल्म्सले ३० हजार सदस्यलाई मिडिया एन्ड इन्टरटेनमेन्ट उद्योगको निःशुल्क खोप लगाउने निर्णय गरेको छ । यसका लागि उनीहरूले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसमक्ष ६० हजार खोप खरिद गर्ने अनुमति दिन माग गरेका छन् । पत्रमा लेखिएको छ, ‘खोप केवल रोगसँग लड्नमात्र नभई राज्यको खस्कँदै गइरहेको अर्थतन्त्रविरूद्ध लड्न पनि महत्वपूर्ण छ ।’

प्रतिक्रिया