सडक व्यापारले धानेको जीवन

घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दागले वास्तविक अनुहारको रंग देखिन गाह्रो छ । लमही नगरपालिका–५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आएकी छन् । ६० वर्षीया वलीले आफ्नै पाखुरीले कमाएको पैसाबाट जीवन चलाएकी छन् । पतिले दोस्रो बिहे गरेर अलग्गै बस्न थालेदेखि आफ्ना दुःखका दिन सुरु भएको उनले बताइन् ।

दाङको देउखुरी क्षेत्रमा बाह्रै महिना मकैखेती हुन्छ । उनकोे मकै व्यापार पनि बाहै्र महिना निरन्तर चल्छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको उनले बताइन् । ‘मेरो सहारा भनेको त्यही एउटा छोरो हो । दुःखसुख गरेर छोराले पढेको छ, उसले राम्रो काम पाए त दुई÷चार रुपैयाँ कमाउँथ्यो तर भने जस्तो काम पाइँदैन,’ उनले भनिन्, ‘गरिबको त सहारा पनि कोही हुँदो रहेनछ ।’

उनी बिहान किसानले बेच्न ल्याएको मकै खरिद गरेर बेलुकासम्म बेच्ने गर्छिन् । दिनमा सय वटा जति मकै बिक्री हुने गरेको उनले बताइन् । पोलेको एक घोगा मकैको २५ रुपैयाँमा बिक्री हुन्छ भने काँचो मकै २० रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन् । घोराही उपमहानगरपालिका–१८ निवासी भीमीदेवी मल्ल सडकको किनारामा मकै पोलेर दैनिकी चलाउँछिन् । उनी तातो घाम होस्, चाहे पानीको झरी किन नहोस्, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको भेटिन्छिन् ।

उमेर ७१ वर्ष भयो तैपनि दुुःखले उनलाई छाडेको छैन । घोराहीको व्यस्त सडक माध्यमिक विद्यालय रझेना जाने बाटोको छेउमा पीपलको चौतारीमुनि मकै पोलेर आफ्नो गुजारा चलाउँदै आएकी छन् उनले । आम्दानीको स्रोत नभएपछि मकै पोलेर भएको दुई–चार रुपैयाँले खर्च चलाएको उनले बताइन् । बिहानको खाना खाएर मकै खोज्न गाउँतिर जाने र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म मकै पोल्ने गरेको उनले बताइन् ।

दैनिक घर खर्च र बिरामीले थला परेका पतिको उपचार खर्च मकै पोलेर आएको पैसाबाट चलेको उनले बताइन् । उनका पति दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण बिरामी छन् । हातगोडा चल्दैनन् । काम गर्न सक्नुहुन्न । दिनरात विछ्यौनामा ढलिरहनुहुन्छ । पतिको औषधि खर्च र खाने खर्च सकिएपछि काममा हिँडेको भिमीले बताइन् । उनका दुई छोरा र एक छोरी छन् ।

गत वर्ष कोरोनाको मध्य समयबाट जीविका चलाउन मकै पोलर बेच्न थालेको यस वर्ष पनि सोही व्यापार चलिरहेको छ । कोरोनाको डर पनि लागेन, भोकले मर्नुभन्दा रोगले मर्नु जाति भनेर मकै पोलेर बेच्न थालेको मल्लले बताइन् । ‘दिनमा ३०–४० घोगा मकै पोलेर बेच्ने गरेको छु, एउटा मकै १५ देखि २० रुपैयाँमा बिक्री हुन्छ । राम्रोसँग मकै चपाउने आफ्ना दाँत छैनन्, अरूलाई खुवाएर आफ्नो पेट पाल्न सजिलो भएको छ,’ उनले भनिन् ।

‘अलि रात पर्यो भने आँखाले देख्दैन, झिसमिसे साँझमै घरमा पुग्नुपर्छ । दिनभरि आगोमा मकै पोल्दा साँझ आँखा पिरो भएर धमिलो हुन्छ । दिनभरि घरमा एक्लै छोडेको पतिको स्याहारमा जुट्नुपर्छ,’ उनले भनिन्, ‘उता पति भोकाएर मेरै बाटो कुरेर बसेका हुन्छन् । कहिले खाना बनाउन जाँगर लाग्छ र पकाउँछु, जाँगर नलागेको दिनमा दिउँसो बचेको एक, दुई घोगा मकै खाएर रात कटाउने गर्छु । बिरामीले मकै खान सक्नुहुन्न, दूध र पाउरोटी खान दिएर सुत्छौँ ।’

लमही नगरपालिका–६ की ३५ वर्षीय रुपा भण्डारीले लमही भालुवाङ सडक छेउमा मकै पोल्न थालेको तीन वर्ष भयो । लमहीमा मकै सधैँ सहजैरूपमा पाइन्छ । पूर्व–पश्चिम सडकमा गाडी बिसाउने ठाउँमा मकै बेच्ने गरेको देखेर यात्रु आफैँ गाडी रोकेर मकै किन्न आउने गरेको उनले बताइन् । घरमा कमाउने कोही छैन, साँझ–बिहान खानाको समस्या हुने गरेको छ,’ रुपाले भनिन्, ‘दिनभरि मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेकी छु ।’

लमही बजारमा मकैको राम्रो व्यापार हुने गरेको र मकै बेचेको पैसाबाट चार जनाको परिवार पालिएको उनले बताइन् । उनले दैनिक चार सयदेखि सात सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन् । बिहान नौ बजेदेखि मकैको व्यापार सुरु हुन्छ, गर्मीमा तातो घाम, वर्षाको झरीको कुनै प्रवाह नगरी मकै बिक्री गर्ने गरेको उनले बताइन् ।

अन्य काम गर्नुभन्दा मकै पोलेर बेच्ने काम सजिलो लागेर यता लागेको उनको भनाइ छ । घोराही, तुलसीपुर, लमहीका मुख्य सडकमा तातो घाममा मकै पोलेर धेरै महिलाले संघर्ष गरेर जीवन निर्वाह गरिरहेका छन् । यस क्षेत्रमा अन्य आम्दानीको बाटो नभएपछि मकैको सहाराले जीवन चलाउनेको संख्या धेरै छ । उनीहरूका लागि सडकमा तातो घाम र आगोसँगै तातिनु नै जीवन निर्वाहको बाटो बनेको छ ।

पोलेको मकै खाँदा स्वादिलो मात्र होइन स्वास्थ्यवद्र्धक तथा पोषणयुक्त हुन्छ । यसमा प्रोटिन तथा कार्बोहाइडे«ट जस्ता पौष्टिक तत्व पाइने चिकित्सकको भनाइ छ । मकैमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन क्रियालाई सन्तुलित बनाउने गरेको प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। मीनचन्द्र अधिकारीले बताए ।

उनले भने, ‘मकैले कोलेस्टोरको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ । पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ, स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।’ पोलेको मकै मन नपर्ने कमै मान्छे हुन्छन् । बाटो हिँडदाको साथी र भोक मेटाउने माध्यम पनि हो पोलेको मकै । यसै गरी थारै लगानीमा जो कोहीले गर्न सक्ने काम पनि हो सडकमा पोलेको मकैको व्यापार । त्यसैले जो कोहीले यो काममा सहजै हात हाल्न आँट गर्छन् ।

लमही नगरपालिका उपप्रमुख देवका बेलवासेले सडक छेउमा व्यापार गर्नेलाई व्यवस्थित गर्ने कामको थालनी गरिएको बताए । सबैले व्यापार गरेर खानलाई सजिलो होस् भनेर सुरक्षित तरिकाको बस्ने ठाउँको बन्दोबस्ती नगरपालिकाले गरेको उनले बताए । ‘गरिखाने वर्गलाई लक्षित गरेर व्यापार गर्ने ठाउँको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘लमहीमा महिला पुरुष दुवै जनाले विभिन्न व्यापार गर्नुभएको छ, गरिखानलाई नगरपालिकाले व्यवस्थित ठाउँको प्रबन्ध गरेका छौँ ।’

प्रतिक्रिया