षडानन्दलाई काजीरोशन पुरस्कार

बागलुङ । डा. षडानन्द पौडेललाई धौलागिरि साहित्य प्रतिष्ठानले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरेको छ । ‘काजी रोशनको काव्य साधना’ नामक अनुसन्धनात्मक कृति लेखेका पौडेललाई १५ हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

पौडेलले काजी रोशनको काव्य साधना अनुसन्धानपछि पुस्तक आकारमा समेत प्रकाशित गरेका छन् । विगत १९ वर्ष धौलागिरि बहुमुखी क्याम्पसमा नेपाली साहित्य विषयमा प्राध्यापन गरेका उनी पाँच वर्षदेखि काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापनरत् छन् ।

पुरस्कार भानु जयन्तीको अवसरमा प्रदान गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण स्थगित भएको ‘बम सरस्वती स्मृति पुरस्कार’ काभ्रेको पनौतीका सूर्यप्रसाद लाकोजूलाई दिइएको छ । साहित्य क्षेत्रमा योगदान दिएको भन्दै लाकोजूलाई पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका सदस्य हरिप्रसाद पाण्डेयले बताए । कार्यक्रममै बागलुङको गलकोट घर भई चितवनमा बस्दै आएकी राधिका कल्पितद्वारा लिखित ‘बरफका कोइलाहरू’ कविता संग्रह विमोचन गरियो । सो कृतिको धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सार्वजनिक गरे ।

सो अवसरमा अधिकांश वक्ताले काजी रोशनले नेपाली भाषा र साहित्यको विकासमा योगदान गरेको र नयाँ पुस्तालाई अगाडि बढ्न प्रेरणा दिने गरेकोसमेत बताए । कार्यक्रममा साहित्यकार काजी रोशनले भद्रकुमारी घले कृतित्व पुरस्कारबाट प्राप्त ५० हजार प्रतिष्ठानको कोषमा जम्मा गरेका थिए ।

प्रतिक्रिया