आयआर्जनका लागि बाख्रा र मकैको विउ वितरण

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आयआर्जनका लागि बाख्राको पाठी र कृषकलाई मकैको बिउ वितरण गरेको छ । गाउँपालिकाले बन्दीपुर–१ का सात जना अपांगता भएका व्यक्तिलाई मूल पुँजी बिउअन्तर्गत एक÷एक बाख्रा र पालिकालाई बिउमा आत्मनिर्भर बनाउन मकैको बिउ वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी र वडाका वडाध्यक्ष भानुभक्त पोखरेलले संयुक्तरूपमा अपांगता भएकालाई बाख्राको पाठी हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाको आर्थिक सहयोग तथा नेत्रहीन संघको आयोजनामा एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । न्यून आय भएका तथा विपन्न वर्गका विशेषगरी नेत्रहीनसम्बन्धी अपांगता भएका छनोट गरी बाख्रा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । लक्षित वर्ग कार्यक्रमअन्तर्गत मूल पुँजी बिउअनुरूप ७५ हजार रुपैयाँ बराबरको बाख्रा वितरण गरिएको हो । उनीहरूलाई बाख्रापालनतर्फ आकर्षित गराएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ । गाउँपालिकाले सुरुमा सानो सहयोग गरे पनि पछि यसबाट राम्रो उत्पादन गरी व्यावसायिकरूपमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिकाले बिउमा आत्मनिर्भर बनाउने उद्देश्यले मूल बिउ वितरण गरेको छ । गाउँपालिकाले अरुण–२ उन्नत जातको १ सय २० किलोग्राम मकैको बिउ मूलबिउका लागि वितरण गरेको हो । गाउँपालिकाभित्रका कृषक बिउका लागि अन्यत्र धाउनु नपर्ने गरी उन्नत बिउमा आत्मनिर्भर बनाउनका लागि मूल बिउ वितरण गरिएको बन्दीपुर गाउँपालिका कृषि शाखाका प्रमुख सुलभ अधिकारीले जानकारी दिए । वीज वृद्धिका लागि समूह र सहकारीको मागअनुरूप बिउ उपलब्ध गराइएको हो । उनले भने, ‘मूल बिउबाट उत्पादित बिउ अर्को वर्ष कृषकलाई पुनः वितरण गरिनेछ ।’

नेपाल कृषि अनुसन्धान परिषद्बाट उत्पादन गरिएको उन्नत मकैको बिउ वितरण् गरिएको सो पालिकाले जनाएको छ । कृषकले बिउ खोज्दै हिँड्नुपर्ने समस्यालाई अन्त्य गर्नका लागि पालिकाले यस किसिमको अभियान चालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । यसैगरी तरकारी खेतीका लागि ४७ घरधुरीका कृषकलाई टनेल निर्माणका लागि ९५ थान प्लास्टिक वितरण गरिएको उनले जानकारी दिए । गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लगानीमा बिउ र टनेल वितरण गरिएको उनले बताए ।गाउँपालिकाले धान, सुन्तला र मकै खेतीका लागि पकेट क्षेत्र बनाउनका लागि विभिन्न क्षेत्रलाई प्रस्तावित गरेको छ । धरमपानी क्षेत्रलाई सुन्तला, शेराटारलाई मकै र झप्रीलाई धानखेतीका लागि पकेट क्षेत्र बनाउन प्रस्तावित गरेको हो । उक्त स्थानको छिट्टै अवलोकन तथा अनुसन्धान गरी पकेट क्षेत्र घोषणा गर्ने योजना गाउँपालिकाको रहेको बताइएको छ ।

प्रतिक्रिया