सञ्जुको एकल प्रदर्शनी

काठमाडौं । कलाकार सञ्जु मास्के प्रधानले तयार पारेका कलाकृतिको एकल प्रदर्शनी सुरु भएको छ । लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा उनको पहिलो एकल ‘आर्ट फर पिस’ चित्रकला प्रदर्शनी भएको हो । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले कलाकार सञ्जुका चित्र सुन्दर लागेको बताए । उनले भने, ‘निकै मिहिनेत गर्नुभएको पाएँ । तर, सिक्नुपर्ने अझ धेरै कुरा छन् । आगामी दिनमा उहाँले अझै सिक्नुहुनेछ भन्ने लागेको छ । उहाँको अर्को प्रदर्शनीका लागि धेरै बधाई छ ।’

सो कार्यक्रममा अरुपण आर्ट ग्यालरीका कार्यकारी निर्देशक रिता खनालले सञ्जु एक प्रतिभाशाली र मिहिनेती कलाकार भएको बताइन् । उनले भनिन्, ‘उहाँको यो पहिलो प्रयास निकै सफल भएको छ ।’ यसैगरी कलाकार एवं नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले सञ्जुका चित्रमा सामाजिक तथा सांस्कृतिक विषयसँगै भावनात्मक पक्ष पनि जोडिएर आएको बताए । उनले कलाकारले एक फड्को मारे पनि अब झनै चुनौती र सम्भावनाका बीचबाट अगाडि बढ्नुपर्ने देखिएको जिकिर गरे । अध्यक्ष खनालले भने, ‘अब नयाँ चित्रका साथमा नयाँपनको खोजी गर्नुपर्छ । जुन कलाकारका लागि चुनौतीसँगै सम्भावनाका रुपमा देखापरेको पाइन्छ । कलाकारका गुरु एक सक्षम कलाकार भएकाले उचित मार्ग निर्देशनले सञ्जु पक्कै पनि अगाडि बढ्नुहुने आशा राख्न सकिन्छ ।’

आफ्नो कला यात्राको अनुभव सुनाउँदै कलाकार सञ्जुले सिर्जनाले मानिसलाई अगाडि बढ्न उत्प्रेरित गर्ने सुनाइन् । उनले भनिन्, ‘कलाको यात्रा अनन्त रहेछ । सिकेर कहिले नसकिने रहेछ । तर, मैले एक सफल कलाको गुरु पाएँ । जुन मेरो लागि अहो भाग्य हो । उहाँकै मार्ग निर्देशनमा आज म यहाँसम्म आइपुगेकी छु ।’ उनले कला सिक्नेवेलामा स–साना भाइबहिनीको प्रेरणासमेत मिलेको बताइन् । कलाकार सञ्जुले भनिन्, ‘मेरा लागि कला एक मनको शान्ति हो ।

कला सबैले सिक्नुपर्छ । यस अरुपण आर्ट ग्यालरीको सद्भाव र प्रेम नै मेरो लागि प्रेरणाको स्रोत हो ।’ कार्यक्रममा कलाकार, कला समीक्षक तथा प्राज्ञ रमेश खनालले कलाकार सञ्जु महिलाको प्रेरणाकी स्रोत भएको बताए । उनले भने, ‘उहाँको लगन र धैर्यताको कदर गर्नुपर्दछ । सञ्जु एक अनुकरणीय महिला कलाकार हुनुहुन्छ । उहाँको क्षमतालाई अझै तिखार्नुपर्दछ । उहाँमा यस क्षेत्रमा अगाडि बढ्ने क्षमता छ ।’ खनालले कलाकार साधनाले नै सफल र योग्य बन्ने भएकाले यसमा ध्यान दिनुपर्ने जोड दिए ।

उक्त कार्यक्रममा साप्ताहिक मञ्च पत्रिका प्रधानसम्पादक बैकुण्ठनाथ प्रधान, प्रा.डा.मनसा ठकुरी लगायतका कलाकार, कला अनुरागी र पत्रकारको उपस्थिति रहेको थियो । अरुपण आर्ट ग्यालरीले आयोजना गरेको उक्त प्रदर्शनीमा कलाकार सञ्जुले बनाएका ४३ थान प्रकृतिप्रदत्त कलाकृति राखिएको छ । प्रदर्शनी १४ चैतसम्म चल्ने ग्यालरीले जनाएको छ ।

प्रतिक्रिया