स्याङ्जाका ४९ होमस्टे एकैसाथ सञ्चालनमा

स्याङ्जा । कोरोना महामारीसँगै बन्द भएका जिल्लाका होमस्टे झन्डै एक वर्षपछि सञ्चालनमा आएका छन् । अहिले कोरोना रोग बिस्तारै नियन्त्रणमा आएको भन्दै स्याङ्जाका ४९ वटा होमस्टे एकैसाथ सञ्चालनमा आएका हुन् । देशकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी होमस्टेबाट जिल्लाभरका होमस्टे सुरु भएको सन्देश प्रवाह गर्न दुईदिने परिचयात्मक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा जिल्लाभरका होमस्टे सञ्चालक, स्याङ्जा र छिमेकी जिल्लाका एक दर्जन सञ्चारकर्मीको सहभागिता थियो ।

आँधिखोला गाउँपालिका–१ का वडाध्यक्ष लोकप्रसाद ढकालले मंगलबारदेखि जिल्लाको ४९ वटै होमस्टे एकै साथ सञ्चालनमा आएको घोषणा गरे । अव पर्यटन क्षेत्रको विकास गर्न बाह्य पर्यटक मात्र नभई आन्तिरक पर्यटकको आकर्षण बढाउन आवश्यक रहेको ढकालले बताए । कल्चर नेचर र एड्भेन्चर नै पर्यटन क्षेत्रको मेरुदण्ड रहेको बताउँदै होमस्टे संघ जिल्लाका अध्यक्ष मोहन खनालले आगामी २७ देखि २९ फागुनसम्म सुन्तलाबारी होमस्टेको कुलमान घिसिङ झर्नामा क्यानोनिङ प्रतियोगिता गरिने बताए । प्रदेशस्तरीय मैत्रीपूर्ण प्रतियोगितामा प्रदेशको ११ जिल्लालाई पत्राचार गरिएको बताए । खनालले पाँच वटा झरनालाई क्यानोनिङ र रक क्लाइम्बिङको रूपमा बिस्तार गर्न खोजिएको बताए ।

मंगलबारदेखि यहाँका होमस्टे सञ्चालनमा आएको सिरुबारी होमस्टेका संयोजक जुम गुरुङले बताए । स्थापना कालमा ४३ घरबाट सञ्चालन गरिएको होमस्टेमा अहिले २३ घर मात्र आवद्ध छन् । एकै रातमा ६० जनासम्म पाहुना बस्न सक्नेछन् । १ हजार ६ सय १० मिटरको उचाइमा रहेको सिरुबारी होमस्टेमा गुरुङ समुदायको संस्कृति झल्किने वेषभूषा, रहनसहनमा पाहुनाले मनोरञ्जन लिन सक्नेछन् । ०५४ सालमा देशकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारीमा होमस्टे सञ्चालनमा आएको हो । तत्कालीन स्व.क्याप्टेन रुद्रमान गुरुङको पहलमा सुरु गरिएको होमस्टे अहिले देशभरका घरवास कार्यक्रमको अभिभावक बन्न सफल भएको छ । स्याङ्जामा अधिकांश होमस्टे गुरुङ र मगर समुदायको बस्तीमा सञ्चालन गरिएको छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया