वीरगञ्ज । नेपाल सरकारले कोभिड–१९ का कारण लक डाउनसहित सम्पूर्ण सीमानाका बन्द गरेकोले भारतीय पर्यटकहरूको आवागमन बन्द भएको थियो । तर, अहिले सरकारले नेपालतर्फको २२ वटा नेपाल–भारत सीमानाका खुला गरेता पनि भारतबाट पर्यटकहरू आउने क्रम सुरू भएको छैन । सरकारले गत ११ माघको मन्त्रिपरिषद्को निर्णयअनुसार भारततर्फका २२ र चीनतर्फका १६ वटा नाका खुला गरेको हो ।
नाका खुलेको करिब एक महिना हुन लाग्दा पनि भारतीय पर्यटकहरूको आवागमनमा कमी भएको छ । नेपाल–भारतको मुख्य नाका वीरगञ्ज नाकाबाट अहिले पनि पर्यटकहरू आउन नसकेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । ‘सरकारले नाका खोलेको घोषणा त ग¥यो तर त्यो व्यवहारमा कठिन किसिमको छ । सरकारले निर्दिष्ट गरेको नियम पूरा गर्न धेरै झन्झट भएकोले भारतीय पर्यटकहरू नआएका हुन् ।’
‘स्थलमार्गबाट आउने भारतीयको हकमा अनलाइन फाराम भरेर अनुमति लिनुका साथै पिसिआर रिपोर्ट लिएर मात्रै आउन भनिएको छ, जुन निकै झन्झटिलो छ । अर्कोतर्फ भारतीय सवारीसाधन लिएर आउनेहरूका लागि सरकारको पछिल्लो निर्देशन मौन छ’, अध्यक्ष पन्तको भनाइ थियो । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरेले भने नाका खुले पनि भारतीय पर्यटकहरू नेपाल आउन डराइरहेको बताएका छन् । ‘दैनिकरूपमा ह्वाट्सएप, इमेलमार्फत सोधपुछ गरिरहेका छन्, उनीहरू आफ्नो गाडी लिएर आउन चाहन्छन्, तर सरकारले सहज मापदण्ड नबनाएकोले भारतीय पर्यटकहरू आउन हिचकिचाइरहेका छन्’, घिमिरेले भने, ‘सरकारले भारतीय तथा तेस्रो मुलुकका पर्यटकको लागि सहज नाकाको चेक प्वाइन्टमा केही सामान्य औपचारिकता तथा स्वास्थ्य मापदण्ड पूरा गरी आउन दिनुपर्छ ।’ पर्यटकका लागि सीमानाका सहज नगरिए पर्यटन व्यवसायी थप मारमा पर्ने उनको विश्लेषण छ ।
वीरगञ्ज–रक्सौल नाकाको सम्बन्धमा भारतीय अधिकारीले लक डाउनभन्दा पहिलेको जस्तै सहज गरिदिएको भए पनि नेपालतर्फ सरकारले तोकेका विभिन्न प्रावधानका कारण भारतीय पर्यटकहरूको आवागमन असहज बनेको छ । जिल्ला सुरक्षा समिति पर्साका एकजना अधिकारीका अनुसार माघ ११ गतेको निर्देशनपछि अवस्था थप कडा पारिएको छ । कोरोना भाइरसको नयाँ संक्रमणलाई रोक्न सरकारबाट कडा गाइडलाइन आएको उनले बताए ।
हवाई मार्गबाट आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकले भिसा र फ्लाइट कन्फर्म भएपछि ७२ घण्टाभित्रको नेगेटिभ पिसिआर परीक्षण रिपोर्टको साथमा वेबसाइट ‘सिसिएमसी डट जिओभी डट एनपी’ मा आवश्यक जानकारीसहितको फाराम भर्नुपर्छ । सिसिएमसीमा फर्म सबमिट गरेपछि उपलब्ध गराइएको जेनेरेटेड बार कोड प्रिन्ट गरी वा स्क्रिन सट खिचेर नेपाल भित्रिनुपर्ने प्रावधान छ । त्यसैगरी, भारतीय नाका भएर स्थलमार्गबाट आउनेले ७२ घण्टाभित्रको नेगेटिभ पिसिआर रिपोर्टसहित सोही साइटमा अनलाइन फाराम भरेपछि नेपाल आउने स्वीकृतिसहितको बार कोड भारतीय मोबाइल म्यासेजबाट पाउनेछन् । सोकोे प्रिन्ट वा स्क्रिन सट गरी भारतसँग टाँसिएको नेपाली नाकामा रहेको हेल्प डेस्कमा सम्पर्क गर्नुपर्छ । त्यसपछि स्वास्थ्य परीक्षण गरेर मात्रै नेपाल भित्रिन पाइने व्यवस्था छ ।
गृह मन्त्रालयको यही माघ ११ गतेको निर्णय अनुसार लक डाउनसँगै बन्द भएका नाकाहरूमध्ये भारततर्फ खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया), र चीनतर्फ तातोपानी (सिन्धुपाल्चोक) नाका खुला गरेको हो । त्यसभन्दा पहिले भारततर्फ पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिराहा), गौर (रौतहट), वीरगञ्ज (पर्सा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रूपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगारपुलाघाट (दार्चुला) र झुलाघाट (बैतडी) र चीनतर्फ रसुवागढी (रसुवा) नाका खोलिएको थियो ।
प्रतिक्रिया