पुथाउत्तरगंगालाई तीन टुक्रा बनाउन प्रस्ताव

रुकुमपूर्व । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीन वटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुई वटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत १७ माघमा छलफल भएको थियो । भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीन वटा बनाउन प्रस्ताव गरिएको छ ।

हालको केन्द्रलाई नै केन्द्र मान्ने गरी उत्तरगंगा, कोल र जाङको क्षेत्र मिलाएर जामाबगर केन्द्र बनाउने गरी सुनगुफा, हुकाम र मैकोटको केन्द्र गरघाट हुने गरी पुथा गाउँपालिका प्रस्ताव गरिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यसमेतको समर्थनमा गाउँपालिका टुत्र्mयाउने प्रस्ताव गरिएको हो । तेस्रो गाउँपालिका बनाउने प्रस्ताव आएपछि गाउँसभा अनिर्णित बनेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । ४५ दिनभित्र विशेष गाउँसभा गर्ने र त्यसैबाट थप गाउँपालिकाको सिफारिस गरिने अध्यक्ष घर्तीले बताए । गाउँपालिका विभाजनबारे विवाद बढेपछि आयोग बनाउन छलफल भएको छ । वडा मिलाउने र सीमारेखा पनि अनुकूल हुने गरी सिफारिस गर्न कार्यपालिकाले आयोग बनाउने तयारी गरेको हो ।

पुथाउत्तरगंगा–१२ का वडाध्यक्ष गंगबहादुर पुन मगरले गाउँपालिका भूगोलमा ठूलो भएपछि सबैले सेवा प्रवाहमा असहज महसुस गरेको बताए । १५ माघबाट सुरु भएको गाउँसभा १७ गते स्थगन भएको थियो । रुकुम (पूर्व) का तीन स्थानीय तहमध्ये पुथाउत्तरगंगा सबैभन्दा ठूलो हो । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गाविस मिलाएर यो गाउँपालिका बनाइएको छ । यसमा १४ वडा छन् । जिल्लाबाट पुथा र उत्तरगंगा गाउँपालिका भनेर सिफारिस गरिए पनि माथिबाट एउटै भएर आएको थियो ।

प्रतिक्रिया