नारायणी र राप्तीमा जलपंक्षी गणना सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपंछी गणना सुरु गरिएको छ । विश्वभर जनवरी ५ देखि जलपंछी गणना गरिने भए पनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना सुरु गरिएको हो । बर्ड एजुकेसन सोसाइटीको अगुवाइमा भएको चरा गणनामा चितवनको भण्डारादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीसम्मका विभिन्न सिमसारहरूमा जलपंछी गणना गरिँदै छ । बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरीले विभिन्न नौ जना चरा विज्ञलाई टोली नेताका रूपमा चयन गरेर ५० भन्दा बढी गणकहरू चरा गणनामा सहभागी भएको बताए । विश्वव्यापीरूपमा गरिएको चरा गणनाको नेतृत्व ‘वेटल्यान्ड इन्टरनेसन’ले गर्ने भन्दै चौधरीले २७ देशका ६ हजार १ सय स्थानमा एकैसाथ जलपंछी गणना भइरहेको जानकारी दिए ।

विश्वमा पाइने १ सय ७५ प्रजातिका जलपंछीमध्ये नेपालका सिमसार क्षेत्रमा १ सय ६० प्रजाति गणना गरिएको अध्यक्ष चौधरीले बताए । ‘जलपंछीको विभिन्न १२ वटा प्रजाति संकटापन्नको सूचीमा परेका छन्’, उनले भने, ‘नेपालमा सारससहित तीन वटा प्रजाति संरक्षणको सूचीमा छन् ।’ जलकौवा, चखेवालगायत हाँस प्रजातिहरू नारायणी र राप्ती नदीमा बढी मात्रामा भेटिने गरेको भए पनि यस वर्ष यिनीहरूको संख्यामा समेत कमी आएको उनको भनाइ छ ।
बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष एवं चराविज्ञ वासु विडारीले नदीका जलाधार क्षेत्रहरूमा प्रदूषण बढ्दै जाँदा जलपछीको संख्यामा कमी आएको बताए । ‘सहरीकरणसँगै हाम्रा नदीहरू प्रदूषित बन्दै गइरहेका छन्’, उनले भने, ‘जसको प्रत्यक्ष असर जलपंछीहरूमा परेको छ ।’ नदीहरूमा बढ्दै गएको प्रदूषण न्यूनीकरण गर्न नसकेको अवस्थामा नेपालबाटै जलपंछीहरू लोप हुने खतरा बढ्दै गएको भन्दै विडारीले बेलैमा सचेत हुनुपर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको सिमसार क्षेत्रमा गणना भएका चराहरूको तथ्यांकलाई यस वर्षदेखि स्थानीयरूपमा समेत सार्वजनिक गर्ने गरी काम भइरहेको चराविज्ञ टीका गिरीले बताए । अघिल्लो वर्षहरूमा हुने गणनाको रिपोर्ट एकमुष्ठ निस्कने गरेको भए पनि यस वर्षदेखि चितवन र यस वरपरको क्षेत्रको तथ्यांक बर्ड एजुकेसन सोसाइटीले समेत सार्वजनिक गर्ने उनको भनाइ छ ।

नारायणी र निकुञ्ज क्षेत्रमा पाइएका चराहरू, यिनीहरूको बासस्थानको अवस्था, संरक्षणका प्रयासबारे सरोकार पक्षसँग अन्तरक्रिया गर्दै संरक्षणमा सबैको साथ लिएर अगाडि बढ्ने तयारी भइरहेको चराविज्ञ गिरीले बताए । निकुञ्जले बनाउने घाँसेमैदान एकै प्रकृतिको भएको, चरा विज्ञहरूसँग कुनै पनि छलफल नगरी निर्माण गरिँदा जलमा आश्रित पंछीहरूको बासस्थानमा समस्या हुँदा संख्या घटेको उनको भनाइ छ ।

आइतबार र सोमबार गरिएको जलपंछी गणनामा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला, गरुड, भुँडीफोर गरुड, कालो गरुड, स्युइरो ठुँडे हाँस आदि प्रजाति भेटिएको चराविज्ञ गिरीले बताए । विश्वव्यापीरूपमा गरिने गणनानुसार आउने तथ्यांकले जलपंक्षीको संरक्षणका लागि रणनीति तयार गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

प्रतिक्रिया