खोटाङ । महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साँढे पाँच लाखभन्दा बढी भेटी संकलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत ८ मंसिरदेखि यही ८ पुस सम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २ सय ९० भेटी संकलन भएको हो । गत ८ चैतदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत १६ मंसिरमा खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो संख्यामा भेटी संकलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट ३ लाख ३० हजार ५ सय ९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट २९ हजार ६ सय ३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट १४ हजार ७० भेटी संकलन भएको छ । गत ६ चैतदेखि ८ पुसका बीचमा मन्दिरको प्रांगणमा राखिएको दान पेटिकामा १ लाख ८९ हजार ९ सय ९० भेटी संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । दर्शनार्थी तथा भक्तजनले भारु ६ सय ५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन् । यस्तै, १ सय ६ दशमलव ५० ग्राम चाँदी र १ दशमलव ३ ग्राम सुन संकलन भएको सूचना केन्द्रले जनाएको छ ।
त्रिधार्मिक स्थलका नामले प्रसिद्ध हलेसीमा गतवर्ष ८७ लाख ६६ हजार २ सय ७४ भेटी बापतको रकमसहित सुन ११ दशमलव ५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ । हलेसीमा अहिले दैनिक सयौँको संख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टंक राईले जानकारी दिए । ‘हलेसीमा रामनवमीको अवसरमा १५ दिन, बालाचतुर्दशीको अवसरमा १२ दिन, शिवरात्रीको अवसरमा मेला सात दिन र हरितालिका तीजको अवसरमा तीन दिन मेला लाग्दै आएको छ’, उनले भने, ‘यस वर्ष कम्तीमा १० पटक मेला लगाउने तयारी गरिएको थियो । कोरोना महामारीका कारण समस्या भयो ।’
अहिले व्यापार व्यवसायसमेत खुल्न थालेका छन् । व्यवसायीसमेत आफ्नो लयमा आएका उद्योग वाणिज्य संघ खोटाङका पूर्वअध्यक्ष एवं होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालुले बताए । हलेसीमा स्वदेशसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत लगायतबाट दर्शनार्थी आउने गरेका छन् । हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको छ ।
प्रतिक्रिया