स्याङ्जा । बढ्दो सहरीकरणसँगै पीपलका चौतारीको महत्व र अस्तित्व ओझेलमा परेको छ । केही भएका चौतारीको पनि संरक्षण हुन सकेको छैन, बरु लागुऔषध दुव्र्यसन र विसंगतितर्फ उन्मुख कलिला युवायुवतीको आश्रयस्थल बनेको छ, यस्ता चौतारी । धार्मिक ऐतिहासिक तथा वैज्ञानिक महत्व बोकेको वृक्ष पीपल । अझ त्यही पीपलमा ढुंगा छापेको चौतारी जिजुबाजेको पालामा संरक्षित थियो । मानव जीवनको उकालीओरालीमा विश्राम गर्ने थलो हुन्थ्यो । घाँस दाउरा बोकेर आराम गर्ने होस् वा उमेर ढल्केका बुवाआमाले सुखदुःख साटासाट गर्ने, यो चौतारीको विशेषता नै फरक छ ।
ढुंगा छापेर चौतारी बनाइन्थे, त्यहीँ मुनी ढुंगे धारा हुन्थ्यो । अग्रजको महत्वपूर्ण सामाजिक कार्य नै यही हुन्थ्यो । यस्तै प्रतिनिधि चौतारीको एक हो, वालिङ–१० बिहारथोकमा अवस्थित बाँसकोटे चौतारी । सायद यस क्षेत्रमा बाँसघारी भएको कारण बाँसकोटे रहेको भन्ने बुझिन्छ । त्यहीँ पारि चिहाने चौतारी थियो । अग्रजको कथन अनुसार तत्कालीन समयमा मृत्यु भएका बच्चाबच्ची यही चौतारीमुनि गाड्ने एउटा चिहान थियो रे ! त्यसैले यस चौतारीलाई चिहाने भनिएको रे !
तर, सिद्धार्थ राजमार्गको निर्माण र संरक्षणको अभावमा यसको अस्तित्व मेटियो । बाँसकोटे चौतारीलाई नै चिहाने भन्न थालियो र पछिल्लो पुस्ताले यस चौतारीलाई शीतल चौतारी नामाकरण गरेका छन् । तत्कालीन बाइसे चौबिसे राज्यअन्तर्गत गह्रौँकोटे राजाले आराम (बिहार) गर्ने थलोको रूपमा लिइन्छ, यस क्षेत्रलाई । त्यसैकारणले यस गाउँको नाम नै बिहारथोक रहन गएको भन्ने बुझिन्छ ।
सयौँ वर्ष अगाडि बिहारथोकका सुवेदी अग्रजले लगाएको यो चौतारीको ऐतिहासिक मात्र होइन धार्मिक महत्व पनि बढ्दै गएको छ । सायद बढ्दो सहरीकरणकै कारण हुनुपर्छ टोलटोलमा भएका यस्ता चौतारी मासिएका छन् । प्रत्येक शनिबार पूजा गर्ने महिला भक्तजनले भरिभराउ हुँदा, सबेरै चार बजेदेखि शंख घण्टा बजाइन्छ । ती आवाजले पीपलको भावना झल्किएको छ र भनिएको छ ‘ए मानवजाति. मलाई संरक्षण गर … म तिमीलाई संरक्षण गर्नेछु ।’
स्याङ्जा
प्रतिक्रिया