छाडापनको नमुना

सूचनाप्रविधिको विकाससँगै नेपाली समाजमा पनि अराजकता, विकृति र विसंगतिले जरा गाड्दै गइरहेको छ । अश्लील र यौनजन्य चलचित्र निर्माण तथा बिक्री–वितरण गरेर सस्तो प्रचार र मनग्ये पैसा कमाउने चाहनाले पछिल्लो समय नेपाली युवायुवती पनि यस्ता विकृत मानसिकतामा हुर्किरहेका छन् । बालबालिका प्रयोग गरेर यस्ता अश्लील दृश्य निर्माण गर्दै विभिन्न विद्युतीय सञ्चारमाध्यममा प्रसारण गरिन थालिएको छ । यसको पछिल्लो उदाहरण बनेको छ, नवलपरासीस्थित गैँडाकोटका स्कुले विद्यार्थीबीच गर्न लगाइएको यौनजन्य क्रियाकलाप । पछिल्लो समय नेपाली युवायुवतीमा यस्ता क्रियाकलाप बढ्दै गइरहेको अवस्थामा सानासाना स्कुले बालबालिका पनि अछूतो रहेनछन् भन्ने यस घटनाले पुष्टि गरेको छ । यस घटनाबारे प्रहरी प्रशासनले आवश्यक छानबिन गरी यसमा संलग्न दोषीलाई कडा कारबाही गरी कानुनी कठघरामा उभ्याउनैपर्छ । जसले आगामी दिनमा समाजमा अराजकता, विकृति र विसंगति निम्त्याउने यस्ता घटना दोहोरिन नपाउन् । पश्चिमाशैलीको नक्कल र सिको गर्न रुचाउने अहिलेको पुस्ता चलचित्र, टेलिभिजनमा देखापर्ने यस्ता दृश्यप्रति निकै लालायित हुन्छन् । यो घटना पनि यिनै विकृतिजन्य क्रियाकलापबाट उत्प्रेरणा मिलेको हुन सक्छ । तसर्थ, यस्ता अश्लील र यौनजन्य क्रियाकलाप समेटिएका चलचित्र, टेलिचलचित्र, टेलिभिजन कार्यक्रम, विज्ञापन आदि निर्माण गर्दा कडा सेन्सरसिपको व्यवस्था गरिनुपर्छ । होइन भने आगामी दिनमा पनि यस्ता विकृति र विसंगतिले यो समाजमा अझै तीव्र गतिमा निरन्तरता नपाइरहला भन्न सकिन्न ।

प्रतिक्रिया