दोलखा । दोलखाको तामाकोसी गाउँपालिकामा सुविधा सम्पन्न कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि शुक्रबारबाट गाउँपालिकाले पाँच बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरेको स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन मार्गदर्शन २०७७ बमोजिम अस्पताल सञ्चालनमा ल्याएको तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।
०७२ सालमा गएको बिनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यन्वयन इकाओ (भवन) दोलखाद्वारा पुनर्निर्माण गरिएको वडा–४ स्थित मालु स्वास्थ्यचौकीलाई पाँच बेडको अस्थायी कोभिड–१९ अस्पतालको रूपमा बिस्तार गरी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना अस्पतालका लागि एक जना मेडिकल अधिकृत, दुई जना नर्स र एक जना हेल्थ असिस्टेन्ट, एक जना अहेब र एक जना कार्यालय सहयोगी गरेर ६ जना कर्मचारीको छनोट गरिसकेको छ ।
कोभिड अस्पतालका लागि नेपाल सरकारको १० लाख र गाउँपालिकाको सहयोगमा अस्पताल सञ्चालन आएको गाउँपालिकाले जनाएको छ । दक्ष स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिने गाउँपालिकाका प्रशासकीय निमेष मिश्रले बताए । अस्थायी अस्पतालमा सेवा लिन आउने कोभिड–१९ का संक्रमित बिरामीलाई गाउँपालिकाले सबै उपचार खर्च निःशुल्क गर्ने गाउँपालिकाले निर्णय गरिसकेको अधिकृत मिश्रले बताए ।
दाेलखा
प्रतिक्रिया