सर्लाही । सर्लाहीमा नेपाल–भारत सिमानाका खुलाउने तथा राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माणकार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने लगायत विभिन्न पाँच सुत्रिय माग राख्दै सर्लाहीको सदरमुकाम मलङ्ग्वामा मंसिर २१ गते आइतबारबाट सुरु भएको अनिश्चितकालिन सर्वपक्षीय दबाब मुलक रिले धर्ना कार्यक्रम जारी रहेको छ ।
यस अनिश्चितकालिन सर्वपक्षीय दबाब मुलक रिले धर्ना कार्यक्रम पश्चात् पनि सिमानाका खुल्ला र हुलाकी राजमार्गको निर्माणकार्य लगायत विभिन्न पाँच सुत्रिय मागलाई सरकारले सम्बोधन नगरेको खण्डमा आन्दोलनका थप कडा कार्यक्रम ल्याइने सर्लाही निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष निर्वाचित संघीय सांसद तथा जनता समाजवादी पार्टी नेपालका शीर्ष नेता मा. महेन्द्रराय यादवले जानकारी दिए ।
भारतले एकतर्फी रुपमा सिमानाका खोले पनि नेपाल सरकारले नेपाल तर्फको सीमा नखोल्दा स्थानीय बासिन्दालाई समस्या उत्पन्न भएको भन्दै सर्वपक्षिय संघर्ष समितिद्वारा सिमानाका खुल्ला गर्नुपर्ने, राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माणकार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने, हुलाकी राजमार्गकै निर्माणाधीन सडको स्तरोन्नति गर्नुपर्ने, हुलाकी राजमार्गलगायत अन्य शाखा सडक र पुलहरुको गुणस्तरको छानबिन गर्नुपर्ने, हुलाकी राजमार्ग निर्माण गर्दा राजमार्गमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउनु पर्ने र हुलाकी राजमार्ग निर्माण कार्यको ठेक्काको म्याद नथप्न लगायतका मागहरू राखेर दबाबमुलक रिले धर्ना कार्यक्रम जारी रहेको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले जानकारी दिए ।
सिमानाका बन्द रहेकोले स्थानीय जनता महँगीको प्रत्यक्ष मारमा परेका छन् । सीमा बन्द भएकै कारण जिल्लामा कालोबजारी, तस्करी र चोरी निकासी बढ्दै गएकोले सिमानाका खुलाउनुको विकल्प नरहेको मलङ्ग्वा नगरपालिकाका मेयर निरसल साहले बताए ।
सिमापारीबाट नेपाल आउने तर, नेपालबाट सिमापारी जान नदिने सरकारी नीतिका कारण सिमावर्ती क्षेत्रका बासिन्दालाई विभिन्न समस्याहरु उत्पन्न भएकोले यथाशीघ्र सिमानाका खोलाउन तथा राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माणकार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्नका लागि सरकारलाई दबाब सृजना गर्ने अभिप्रायले धर्नामा बसेको जसपा नेपालका सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष विनय कुमार रायले बताए ।
जारी रहेको अनिश्चितकालिन दबाब मुलक रिले धर्ना कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरु, स्थानीय निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, चेम्बर अफ कमर्स, ज्येष्ठ नागरिक लगायत आम जनसमुदायको भव्य उपस्थिति रहँदै आएको छ ।
प्रतिक्रिया