४ कोठे भवनको उद्घाटन गदै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही । तस्विर : हस्त चौलागाँई
कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका ५ बाझकोटमा ४ कोठे भवनको एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारबाट २० लाख,पचालझरना गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को रकमबाट १६ लाख रकममा बनेको ४ कोठे भवनको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका हुन । श्री पञ्चकालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मर्मजंग बमको अध्यक्षता, कर्णाली प्रदेश सकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आथित्यता तथा प्रतिनिधी सभा सदस्य दुर्गबहादुर रावतको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।
विद्यालयमा आवश्यक भवन नहुँदा विद्यार्थीहरुलाई पठन पाठनमा समस्या थियो । ४१६ जना विद्यार्थि रहेको उक्त विद्यालयमा आवश्यक दरवन्दी अनुसार कर्मचारी छैनन् । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका विद्यालयहरुमा भवनको समस्या देखिए सम्वन्धित स्थानीय तहको माग अनुसार समस्या समाधान गर्ने बताएका छन् ।
शाहीले भने पचालझरना गाउँपालिको पञ्चकालिका माध्यमिक विद्यालय आवश्यक पर्ने भवन, फर्निचर, पाठ्यपुस्तक लगायत अन्य समस्या भए गाउँपालिकाले माग गरे प्रदेश सरकारबाट उपलव्ध गराउने बताए । आफ्नो निर्वाचन क्षेत्र अझै त आफु जन्मेको गाउँपालिकामा भौतिक पुर्वाधार अभावका साथै अन्य केही समस्या देखिए प्रदेश सरकारले समाधान गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले पालिका भित्र रहेका विद्यालयहरुमा भौतिक पुर्वाधारको अवस्था अनुगमन गरी समस्या समाधान गर्ने बताए । उनले भौतिक संरचना जिर्ण भएका विद्यालयहरुलाई तत्कालै नयाँ भौतिक संरचना निर्माण गर्ने र विद्यार्थिलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरुको पूर्णरुपमा व्यवस्था गर्न पालिकाले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
विद्यालयसम्म पुग्नका लागि सडकको समेत सुविधा भइसकेको छ । पचालझरनाको जारकोट देखि बाझकोट सम्मको सडक निर्माण भइसकेको छ । तर जारकोटमा बन्ने पुल नबन्दा भने ठुला सवारी साधनहरु आउन जानमा समस्या रहेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहितको टोलिले जारकोटमा बन्ने बेलिव्रिज पुलको सिलान्यास भने गरिसकेका छन् । अव तत्कालै पुलको काम टेन्डर गरेर अगाडी बढाउने आस भने शाहीले देखाइसकेका छन् ।
विद्यालयमा शिक्षक दरबन्दीको अभाव
पञ्चकालिका माध्यमिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षकको संख्या छैन । दरबन्दी अनुसार विद्यालयमा शिक्षक नहुँदा विद्यार्थिहरको पढाईमा भने समस्या देखिएको छ । कक्षा १० मा पढ्ने छात्रा सोनि शाहीले भनिन, ‘विषय अनुसारका शिक्षक नुहँदा पढाईमा ठुलो समस्या छ । अहिले सम्म कतिपय विषय त पढाई नै शुरु भएका छैनन् । एसईई पनि नजिकै आइसक्यो के गर्ने ,कसो गर्ने भन्ने सोचमा कक्षा १० का ५० जना विद्यार्थिलाई चिन्ता छ ।’
उनीमात्र नभई कक्षा १ देखि १२ सम्मका सवै विद्यार्थीले विषय अनुसारको शिक्षक नपाउदा अध्ययनमा ठुलो समस्या र चुनौती देखिएको छ । अर्कै विषयका शिक्षकले पढाउदा त्यति राम्रो हुदैन भन्दै विद्यार्थिहरु मा आक्रोसमा आएका छन् । विषयगत शिक्षकको दरबन्दी भए पनि भौगोलिक बिकटताका कारण दरबन्दीको अभाव देखिएको हो । विकट क्षेत्रमा शिक्षकहरु आउन मान्दैनन् । आए पनि सरुवा गराएर आफुलाई पायक पर्ने ठाउँमा सरुवा भएर जान्छन् । माध्यमिक तहमा ५ जनाको दरबन्दी भएपनी हाल २ जना मात्र छन् । निम्न माध्यमिक तहमा ४ जनाको दरबन्दी हुनुपर्नेमा हाल ३ जनाको दरबन्दी छ । यस्तै प्राथमिक तहमा ५ जनाको दरबन्दीमा हाल ३ जना छन् ।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर बमका अनुसार विद्यालयका पुराना भवनहरु टिनको पाताले छाएको छ, तर ति संरचना पनि जिर्ण अवस्थामा छन् । विद्यार्थीलाई आवश्यक कक्षा कोठा भने छैनन् । गाउँपालिकासंग बेला बेलामा विद्यालयको समस्या समाधानका लागि पहल गरेपनी हाल सम्म कुनै सुनुवाई नभएको विद्यालय श्रोतले जनाएको छ ।
हाल प्रदेश सरकार र गाउँपालिका सरकारको सहयोगमा ४ कोठे भवन निर्माण भएको हो । विद्यालयको थप स्तरोन्नतीका लागि र दिगो टिकाउको रुपमा संचालन गर्न आवश्यक सहयोग गर्नु पर्ने माग विद्यालयका शिक्षकहरुको छ । गाउँपालिकाले विद्यालयलाई मजबुद गराउन सक्दो सहयोग र पहल गर्ने गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताएका छन् । विद्यालयमा शौचालय र खानेपानीको व्यवस्था भएपनी बालमैत्री धारा भने प्रयोगमा ल्याइएको छैनन ।
कालिकाेट
प्रतिक्रिया