सिरहाको जेलमा एकै दिनमा १४८ कैदीबन्दीमा कोरोना संक्रमण

सिरहा । सिरहा कारागारका १ सय ४८ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत भदौ २५ मा २ सय ४६ जनाको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको थियो । मंगलबार आएको परीक्षण रिर्पोटमा १ सय ४८ जना कैदीबन्दीमा संक्रमण देखिएको हो ।

यस्तै, सोमबार १५ जना कैदीबन्दीको रिपार्ट पनि पोजेटिभ आएको थियो । योसँगै १ सय ६३ जना कैदीबन्दीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । स्वाब संकलन भएका २ सय ४६ मध्ये पटक–पटक गरी अहिलेसम्म २ सय ६ जनाको परीक्षणको रिर्पोट आइसकेको छ ।

यसअघि कारागारका ८४ जनामा संक्रमण देखिएका थियो । अहिलेसम्म कारागारमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ । कारागारमा क्षमताभन्दा तीन गुणाबढी पाँचसय ९७ जना कैदीबन्दी छन् । कैदीबन्दीको लागि कारागारभित्रै आइसोलेसन राखिएको सिरहा कारागार प्रमुख बविता महतोले जानकारी दिइन् । संक्रमितको संख्यामा वृद्धि भएसँगै कारागारमा परीक्षणको दायरा बढाइएको महतोले बताइन् ।

प्रतिक्रिया