बढे कोरोना संक्रमितः राजधानी उच्च जोखिममा

काठमाडौं । राजधानी उपत्यकामा कोरोनाको उच्च जोखिम स्थलका रुपमा देखिन थालेको छ । काठमाडौं उपत्यकामा मंगलबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारमात्रै उपत्यकामा ५३ जनामा संक्रमण पुष्टि भएको बताएको छ । विभिन्न नाकाबाट काठमाडौं आएकाहरुमा कोरोना देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । केही उपत्यकाभित्रै पहिलाबाट बसोबास गरिरहेकामा पनि कोरोना देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ९, शिक्षण अस्पतालमा १, प्रहरी अस्पताल प्रयोगशालामा २१ र स्टार अस्पतालमा ६ गरी ४८ जना संक्रमित काठमाडौंमा थपिएका हुन् । मन्त्रालयले केही दिनदेखी राजधानी छिर्ने नाकाबाट स्वाब संकलन गरेर परीक्षण गरिरहेको छ ।

सरकारले हाल काठमाडौँ उपत्यका प्रवेश गर्ने विभिन्न तीन नाकाबाट कोरोना संक्रमण जाँचका लागि नमूना संकलन गरिरहेको छ । मंगलबार साँझ ४ बजेसम्ममा फर्फिङ नाकाबाट ९५५, थानकोट नागढुंगाबाट दुई हजार ९१४ र साँगा ९४४ गरी जम्मा चार हजार ८१३ पिसीआर परीक्षणका लागि नमूना संकलन गरेको छ । उक्त नमूनाको रिपोर्ट आएपछि यथाशिघ्र जानकारी गराइने मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

यसैबीच, मंगलबार २५ दिन यताकै सबैभन्दा बढि संक्रमित थपिएका छन् । ३११ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि असार १९ गते ७४० जना संक्रमित फेला परेका थिए । त्यसपछि भने क्रमश संख्या घटेर दैनिक एक सयको हाराहारीमा भेटिदै आएका थिए । पाँच हजार ३२ पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । सबैभन्दा बढि डोटी जिल्लामा ४८ जना भेटिएका छन् ।

यसैगरी कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको यही साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उनी गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्किएका थिए । यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ४९ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२१ रहेको र हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १३ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३३१ व्यक्ति रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया