वीरगन्जको समुदायमा कोरोना !

काठमाडौं । पर्साको समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । एक जनाको मृत्यु भएको र ट्राभल हिष्ट्री नदेखिएका केहीलाई कोरोना देखिएपछि समुदायमा फैलिएको आशंका गरिएको हो ।

नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शुरुमा ज्वरो आएपछि अस्पताल भर्ना भएका उनको गण्डक अस्पतालमा निधन भएको हो । स्वासप्रश्वासमा समस्या भएपछि छातीको एक्सरे गर्दा निमोनिया भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ ।

बुधबार राती गरिएको परीक्षणमा उनीसहित पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ जना संक्रमित मध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् । सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये कोही पनि क्वारेन्टाइन सेन्टरमा बसेका थिएनन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार संक्रमित १७ जना मध्ये ९ जनाले आफै पैसा तिरेर परीक्षण गराएका र चिकित्सक सिफारिसमा परीक्षणका लागि गएका थिए । अन्य ५ जना अस्पतालमै उपचाररत छन् । चिकित्सकका अनुसार उनीहरुमा कडा निमोनिया देखिएको छ । दुईजना यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा गएका हुन् ।

पेड टेस्ट सुरु भएपछि पछिल्लो समय वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेको छ । स्वेच्छाले परीक्षणका गराएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका व्यक्ति छन् । डा. निरज सिंह वीरगन्जमा कोभिड १९ को समुदायमा फैलिन सुरु भइसकेको बताउँछन् ।

संक्रमितमा गम्भीर प्रकृत्तिको निमोनियाको लक्षण समेत दखिन थालेको भन्दै उनले कन्टयाक्ट ट्रेसिङ र टेस्टीङ तीव्र बनाउन आवश्यक रहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार ‘ट्राभेल हिस्ट्री’ विनाका र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकाले निकै गम्भीर बन्नुपर्ने आवस्था सृजना भएको छ ।

थप १४७ जना संक्रमित
देशभरमा विहिवार थप १४७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ४८१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या पाँच हजार ३५८ पुगेको छ । कोभिड–१९ बाट संक्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १५६ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ । काठमाडौँ उपत्यकामा नौ जनामा कोभिड– १९ संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरका २ जना, ललितपुरका २ र काठमाडौँका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया