रौतहट : राष्ट्रिय वनका रूख कटान भएपछि जिल्ला वन कार्यालय रौतहटले नौ कर्मचारीलाई निलम्बन गरेको छ । वृन्दावन रेन्जपोस्टअन्तर्गत राष्ट्रिय वनबाट व्यापक रूख कटानी गरेको जानकारी कार्यालयलाई नगराएको आरोपमा कर्मचारीलाई निलम्बन गरिएको हो ।
कार्यालय वृन्दावन रेन्जपोस्टका सशस्त्र वनरक्षकका जम्दार सुबोध मिश्र, ग्यासुद्दिन देवान, राजकुमार राय यादव र महावीरप्रसाद चौधरीलाई निलम्बन गरेको छ । त्यसैगरी, फरेस्टर लेखनाथ भण्डारी, वनरक्षक अरविन्द श्रीवास्तव, राजकुमार राय यादव, वीरेन्द्र राउत कुर्मी र सुरेश पण्डितलाई पनि निलम्बन गरिएको सहायक वन अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । रेन्जपोस्टका इन्चार्ज सहायक वन अधिकृत नरेन्द्र मिश्रलाई निलम्बन गर्न विभागमा सिफारिस गरी पठाएको वन कार्यालयले जनाएको छ ।
काठ चोरीतस्करीमा माथिल्लो निकायका कर्मचारीको संलग्नता भएको भए पनि आफूहरूलाई कारबाही गरिएको तल्लो तहका कर्मचारीले आरोप लगाएका छन् । रौतहटका डिएफओ नन्दलाल यादवले वृन्दावन रेन्जपोस्टअन्तर्गतको जंगलमा रूख कटानी भएको भए पनि आफूलाई जानकारी नगराएकाले निलम्बन गरिएको जानकारी दिए । (सौस)
प्रतिक्रिया